लडाकुहरू योद्धा हुन् कि कायर ?

लडाकुहरू योद्धा हुन् कि कायर ?


माओवादी लडाकुहरूका लागि ल्याइएको स्वेच्छिक अवकाशको प्याकेज आकर्षक रहेको स्वयम् लडाकुहरूबाट सुनिएको छ । प्याकेज आकर्षक भएकैले थुप्रै लडाकु स्वेच्छिक अवकाश लिने र त्यसबापत प्राप्त हुने रकम लिएर भविष्यको जीवन सुखद तुल्याउन चाहन्छन् । तर, तिनका कमाण्डरले उनीहरूका परिचयपत्र नै कब्जा गरेर राखेको कुरा सार्वजनिक भएको छ । यसरी स्वेच्छिक अवकाश लिनबाट वञ्चित गर्न खोज्नुको अभिप्राय उनीहरूले पाउने रकम हडप्ने दर्ुर्नियतबाहेक अरू केही होइन भन्ने स्पष्टै छ । के माओवादीका कमाण्डरहरूलाई यसो गर्ने अधिकार छ ?
स्वेच्छिक अवकाश लिएबापत दिइने रकम माओवादी पार्टीलाई दिइएको होइन, व्यक्तिगत रूपमा लडाकुलाई नै दिइएको हो । त्यसै पनि हुँदै नभएका तीन हजार लडाकुको डमी खडा गरेर झन्डै दुई अर्ब रूपैयाँ माओवादी पार्टी नेतृत्वले हजम गरिसकेको कुरा त अब छ्यालब्याल भइसक्यो । यसरी जनताको रगतपसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम माओवादीले ब्रह्मलुट मच्चाउनु कहाँसम्मको नैतिकता हो ? यो सवाल त आफ्नै ठाउँमा छँदै छ, तर यहाँ उठाउनैपर्ने विषयचाहिँ के छ भने यसरी आफ्नो भविष्यमाथि पार्टीले खेलबाड गरिरहँदा पनि लडाकुहरू किन बोल्न सक्दैनन् ? के जिन्दगीभर प्रचण्ड, बाबुराम, बादल र वैद्यहरूको दास बनेरै गुजार्न चाहेका हुन् त लडाकुले ? नेताहरूले त आफ्नो वरत्रपरत्र सुधार गरिसके, भोलि बिचल्ली हुने यिनै लडाकु र साधारण कार्यकर्ताहरूको हो । त्यसैले, राज्यले प्रदान गरेको यस्तो अवसरलाई राम्रोसँग उपयोग गर्नेतिर उनीहरू लाग्नुपर्छ, ता कि समाजमा पनि शान्ति छाओस् । आफ्नो नाममा रकम बुझेर दम्पच पार्ने नेताहरूको भण्डाफोर गर्न कार्यकर्ताहरू चुक्नुहुँदैन । योद्धाहरूले देशका लागि लडेका हु्न् न कि प्रचण्डलाई नेता र बाबुरामलाई प्रधानमन्त्री बनाउन । यदि माओवादी लडाका कायर होइनन् साँच्चै योद्धा हुन् भने एकपटक यो साहस गर्नैपर्छ ।
-अजित अनुरागी
हाल : नयाँबजार, काठमाडौं
औषधिमा खेलवाड
औषधि डाक्टरले लेखेकोभन्दा फरक ब्राण्ड पाइन्छ किन ? भन्नेबारे हामी बिरामी हुन्छौँ, डाक्टरसँग जान्छौँ, अनि औषधि खान्छौँ फेरि ठीक हुन्न फेरि जान्छौँ यो क्रम सधैं बजारमा नर्सिङहोमहरू, क्लिनिकहरू अस्पतालहरूमा चलि नै रहन्छ । भीडभाड भइरहन्छ । आखिर डाक्टरले बिरामीको पुर्जामा एउटा ब्रान्ड लेखिदिएका हुन्छन् तर औषधि बेचिने ठाउँहरूमा त्यही खालको अर्को ब्रान्ड भिडाउँछन् । बिरामीहरूमाथि यो किन भइरहेको छ । ता कि औषधिहरूमा धेरै मुनाफा हुने ब्रान्डहरू भित्रिरहेका छन् होला भन्ने शङ्का उब्जेको छ अचेल । अनि औषधिमाथिको व्यापारमा औषधि व्यवस्था विभागले वास्ता नगर्नुले औषधिमाथिको खेलवाडले मानिसहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न गई ज्यान जोखिमको खतरामा पारिरहेको छ । तपाईं जहाँ जानुस् औषधि तपाईंलाई डाक्टरले सिफारिस गरेकोभन्दा फरक पाउनुहुन्छ । विशेषगरी ऐन्टिबायोटिक औषधिमा किनभने ऐन्टिबायोटिक औषधिमा विक्रेतालाई एक कित्दा एक फ्री हुने गर्दछ । यसका लागि बजारमा औषधि एमआरहरू -मेडिकल प्रतिनिधिहरू) हिँडिरहेका हुन्छन् । यसतर्फ सम्बन्धित क्षेत्रले यथाशीघ्र निगरानी गरोस् भन्ने अनुरोध यस राष्ट्रिय साप्ताहिकमार्फत गर्दछु ।
-अनिल शर्मा, पोखरा- १६