जापानको सत्तारुढ दलको अध्यक्ष परिवर्तन, नवनिर्वाचित अध्यक्ष किशिडा चाँडै प्रधानमन्त्री बन्ने

जापानको सत्तारुढ दलको अध्यक्ष परिवर्तन, नवनिर्वाचित अध्यक्ष किशिडा चाँडै प्रधानमन्त्री बन्ने



जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।

जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । किशिडाका प्रतिष्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।

नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्ने छन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् ।

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षका छन् । उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।

जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुबासमेत प्रतिनिधिसभाको सदस्य रहेका थिए ।