साइकल खरिदमा ब्यापक हिनामिना : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

साइकल खरिदमा ब्यापक हिनामिना : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा



प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयबाट कागाजत नियन्त्रणमा लिएर फर्किएको बताइएको छ ।

छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भएको सूचनाका आधारमा अख्तियारको टोलीले बुधबार कार्यालयमा छापा मारेको हो । साइकल खरिदमा ब्यापक अनियमितता भएको सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका थिए । यसबारे खुलासा भएपछि छापा मारेर छानविन गर्न अख्तियारलाई दबाब परेको थियो ।

प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनिएको थियो । खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश सभामा समेत यसबारेका आवाज उठेको थियो भने संसदीय समितिले छानबिनका लागि कागजपत्र माग गर्दा मुख्यमन्त्री कार्यालयले उपलब्ध गराउन अटेर गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । बताइएअनुसार पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो भने दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको छ, जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।

पहिलो चरणमा खरिद भएको १७ हजार साइकल वितरण भइसकेको र दोस्रो चरणमा किनिएका साइकल गोदाममै रहेका छन् ।