भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ६ विद्यालय भवन र एक एक स्वास्थ्यकेन्द्र पुनर्निर्माण परियोजनाको सहसचिव अनुराग श्रीवास्तवद्वारा अवलोकन र संयुक्त रूपमा उद्घाटन
मित्रराष्ट्र भारतको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा हालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरूको बुधबार एकै दिन उद्घाटन गरिएको छ ।
बनेपामा एक कार्यक्रमको आयोजना गरी भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक-२ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका नेता गोकुलप्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक-१ का प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङका साथै नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा हालसालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरूको संयुक्तरुपमा उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।
बुधबार आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा दूतावासका प्रतिनिधि श्रीवास्तवले उल्लिखित ६ विद्यालयहरूले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको धारणा राखे । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा नेपाली जनतासँग काँधमा काँध मिलाइ उभिएको श्रीवास्तवको धारणा थियो ।

कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनमध्येको ६ भवन निर्माण गरी हस्तान्तरण गरिएकामा खुशी व्यक्त गरे । बनेका सुन्दर भवनबाट त्यसमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो भोलिको सुन्दर यात्राका निम्ति आरामदायी ढङ्गले विनातनाव ज्ञान प्राप्त गर्ने वातावरण सिर्जना भएको उनको भनाइ थियो । नेता बाँस्कोटाले भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध मात्रै नभएर सांस्कृतिक, धार्मिक, सामाजिकलगायत बहुआयामिक सम्बन्धसमेत भएकाले आपासी सहयोगमा निरन्तरता रहेको उल्लेख गरे ।
सङ्घीय सांसद गङ्गाबहादुर तामाङले शिक्षाको ज्योति सञ्चार गर्ने विद्यालयका भवन भूकम्पले भत्काएकामा त्यसलाई पुनःनिर्माण गरेर भारतीय सरकारले गरेको सहयोग अतुलनीय रहेको बताए ।
कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का निर्देशक रामशरण सापकोटाले सिकाइको प्रमुख थलो भएको विद्यालय क्षेत्र हिजो पनि कमजोर अवस्थामा रहेको र भूकम्पले झन् तहसनहस बनाएको अवस्थामा आवश्यकताका आधारमा देशभरिमा सात हजार ५८३ वटा विद्यालय भवन निर्माण गरिरहेको जानकारी दिए ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत यी ६ वटा विद्यालयहरू कूल १९ करोड ७० लाख लागतमा निर्माण भएको हो ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरुप श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण संपन्न गरिएको हो र, यसबाट दुई हजार भन्दा बढी विद्यार्थीहरूले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने माहोल सिर्जना गर्ने विश्वास लिइएको छ ।

ज्ञातव्य छ, नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो । यी विद्यालयहरू पनि यसै योजनाअन्तर्गत निर्माण भएका हुन् । यसरी लाभान्वित हुने आठ जिल्लाहरू गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

बुधबार नै काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमिपूजन कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्यचौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । ७ं करोड ५० लाखमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिव १५ हजार मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्ने बताइएको छ ।
नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा घर, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्यभवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा प्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया