‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा



पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलु टोली स्पोट्र्स क्यासल शीर्षस्थानमा कायमै रहेको छ ।

बहुउद्देश्यीय कभर्डहल (फुटसल कोर्ट) मा बुधबार सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले हराउँदै स्पोट्र्स क्यासल शीर्षस्थानमा यथावत रहन सफल भएको हो ।

क्यासलको जितमा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक–एक गोल गरे । क्यासलले खेलका पाँचौ मिनेटमै अग्रता लियो । विजय गुरुङले क्यासललाई अग्रता दिलाए । यस्तै १४औं मिनेटमा खिमराजले गोल गरे । १५औँ मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे । किशोर गुरुङले खेलको १६औं मिनेटमा तथा खिमराजले १८औं मिनेटमा गोल गरे । क्यासलले दोस्रो हाफमा भने कुनै पनि गोल गर्न सकेन ।

झरनाका लागि नारायण थापा मगरले २९औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको क्यासलको १६ अंक रहेको छ भने समान खेल खेलको झरना अंकविहीन छ ।

बुधवार सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलको ६ खेलबाट १४ अंक रहेको छ । शंखमुलले खेलको सुरुवातदेखि नै लुम्बिनीलाई दबाबमा राख्यो । शंखमुलको जितमा विवेक पण्डितले ८औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको १ मिनेटमा लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३औं मिनेटमा पुन शंखमुलले अग्रता लियो । क्रिजल खड्काले गोल गर्दै पुनः अग्रता दिलाए । ३०औं मिनेटमा सागर तेन्जेले अग्रता तेब्बर पारे । खेलमो ४० औँ मिनेटमा लुम्बिनीका रेफ्री महर्जनले गोल गरेपनि जितका लागि समय पर्याप्त रहन भने सकेन् । लुम्बिनीको ६ खेलबाट ४ अंक रहेको छ ।

बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्सले प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहेको छ । प्रभातफेरी तालिकाको ८ औं स्थानमा रहेको छ । यस्तै ढुकु फुटसल हब ७ औं स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा रहेको छ ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।