‘माननीय’ज्यू, संसद् त्याग्ने कहिले हो ?-वसन्तराज कुँवर

‘माननीय’ज्यू, संसद् त्याग्ने कहिले हो ?-वसन्तराज कुँवर


नार्कोनन्को क्षेत्रीय कार्यालय अस्ट्रेलियामा रहेकोले कामविशेषले मलाई त्यहाँ गइरहनुपर्छ । त्यहाँ रहँदा एकपटक एक ४८ वर्षीया महिलाले मलाई खान बोलाइन् । उनको करिब अठार वर्षको एक छोरो थियो ।
साँझमा गाडी लिएर उनी म बसेको स्थानमा लिन आइपुगिन् । ती महिलाका छोरा पनि घरमै थिए । सबै खाना बनाउन र सजाउन व्यस्त रहेछन् । एक पुरुषतर्फ देखाउँदै ती महिलाले भनिन्, ‘तिमी उनलाई चिन्छौ ? तर हाम्रो सम्बन्धबारे थाहा नहोला । अहिले हामी सँगै बस्छौँ । मेरा पूर्वपतिसँग सम्बन्धविच्छेद भएको केही वर्ष बित्यो । त्यसैले हामी दुई अहिले साथमा छौँ । उनी मेरो छोरालाई पनि खुबै माया गर्छन् । हामी लिभिङ पार्टनर -विवाह नगरी सँगै बस्ने साथी) हौँ ।’
मैले खुसी व्यक्त गरेँ तर जवान छोराले ती आमासँग विवाह नै नगरी आफ्नै घरमा आएका नयाँ पुरुषलाई सहज ढङ्गले स्वीकार गरेको कुराचाहिँ मलाई भित्र-भित्र पचिरहेको थिएन, किनकि म अर्कै संस्कार बोकेको देशबाट गएको थिएँ । मैले मनमनै सोचेँ- त्यो समाजका लागि यो ठीकै छ । यति सोचेर कुखुराको भुटेको फिलातर्फ ध्यान पुर्‍याएँ । वास्तवमै अमेरिकी कुखुरा भएर होला फिला पनि सानो-सानो बोकाको जत्रो थियो । नलीखुट्टा समातेर त्यसलाई चपाउन थालेँ ।
केहीछिनमै म त्यहाँ घुलमिल भएँ । देश-विदेशका कुरा हुन थाल्यो । त्यत्तिकैमा करिब ५०-५२ का अर्का व्यक्ति आइपुगे । उनी आउनेबित्तिकै हामी सबैलाई हेलो भने । एकछिन् खाना खाने स्थानमा बसी जुस र एउटा कुखुराको फिलो लिए । सबैजना उनीसँग खुलेरै बोले । पछि मैले अनुमान लगाएँ कि यी पनि पक्कै नजिककै मानिस हुनुपर्छ । ती व्यक्ति भोकाएर आएका रहेछन् क्यारे भटाभट खानमा ध्यान दिएँ । खाना खाएपछि उनी उठेर ‘ल गुडनाइट’ भन्दै त्यही बैठककै छेउको कोठातिर लागे । उनले जाँदा-जाँदै मसँग फेरि हात मिलाएर भने, ‘म उनको पहिलेको श्रीमान् हँु ।’ यति भनी उनी मसँग बिदा भए र छेउकै कोठामा छिरी ढोका लगाए ।
मेरो दिमागमा चक्कर लाग्यो । आफूले डिभोर्स गरेको श्रीमती जसको हालको लिभिङ पार्टनर -विवाह नगरी सँगै बस्ने साथी) पनि यही अर्को कोठामा बस्दछ, त्यही फ्ल्याटमा कसरी पूर्वपति पनि बस्न सकेका होलान् ? हाम्रो देशमा भएको भए त कुटाकुट मात्र होइन हत्या पनि हुन्थ्यो होला । म मनमनै यस्तै सोच्दै थिएँ, तर फेरि सोचेँ यो बेकारको कुरातिर लाग्नुभन्दा ‘चेरी’ फलफूलप्रति जोड दिऊँ । राता लोभलाग्दा चेरीको मसिना डाँठ समाती स्वाद लिएर खान थालेँ । तर, बिसौर्ंभन्दा पनि ती पूर्वपति यही फ्ल्याटमा कसरी आफ्नो पूर्वपत्नी र उनले ल्याएको नयाँ लिभिङ पार्टनरसँग बसिरहेका छन् भन्ने प्रश्नले भने मलाई छोडेन । मैले सोचेँ- यसबारे सोध्नु पनि ठीक छैन । म खाँदै थिएँ, ती महिलाले नै कुरा निकाल्दै भनिन्, ‘उनी मेरा पूर्वपति हुन् । उनको र मेरो जीवन झन्डै पन्ध्र वर्ष राम्रैसँग बित्यो तर त्यसपछि हामीबीचमा केही अनवन भयो । उनी कामभन्दा बढी आराम गर्न थाले र रक्सी पनि पिउन थाले । मलाई मात्र घर धान्न गाह्रो भयो । त्यसैले हामीले दुई वर्षअघि पारपाचुके गर्‍यौँ । यो फ्ल्याट मेरो हो तर पूर्वपतिको जागिर राम्रो नभएकाले उनी छुट्टै फ्ल्याट खोजेर जान सकिरहेका छैनन् । त्यसैले केही दिनका लागि भनी यहीँ बसेका छन् । -देखाउँदै) मेरो फ्ल्याटमा तीन कोठा छन्, एकमा उनी बस्छन् र त्यसको पैसा मलाई दिन्छन् । बाँकी दुईमा हामी आमा-छोरा छौँ । लिभिङ पार्टनरलाई देखाउँदै उनले भनिन्- हामी यो कोठामा बस्छौँ । हामी चाहन्छौँ पूर्वपतिले नयाँ कोठा खोजेर जाऊन् तर सकिरहेका छैनन् । तर छोराले भने पहिलेका बाबुको पनि माया पाएको छ ।
मलाई पूर्वपतिको माया पनि लाग्यो । फेरि मेरो महिला मित्र तिनै पूर्वपतिसँग बसिदिए हुन्थ्यो जस्तो पनि लाग्यो । तर, उनको पीडा उनैलाई थाहा होला । यसैबीच लिभिङ पार्टनरले पनि आफ्नो विचार राख्दै मलाई भने, ‘के गर्ने उनी -पूर्वपति) आफ्नो कोठा खोजेर गइदिए हुन्थ्यो तर बिचरा उसलाई एक्लैको कमाइले नयाँ ठाउँ खोज्न पनि मुस्किलै पर्छ ।’
त्यस रात करिब एघार बजे म त्यो घरबाट फर्किएँ । मलाई त्यो नौलो परिस्थितिबीच सहज ढङ्गले बाँचेका परिवारको सम्झना आइरह्यो । पूर्वपतिले आफ्नी श्रीमतीलाई कानुनी ढङ्गले छोडिसकेका थिए । उनी अब त्यो घरमा नैतिक हिसाबले पनि बस्नु उचित थिएन । तर पनि आफ्नै लाचारीका कारणले उनी त्यहीँ बस्न र आफ्नै श्रीमतीको नयाँ साथीलाई झेल्न बाध्य थिए । नयाँ लिभिङ पार्टनर आफ्नो नयाँ अधिकारका साथ त्यहाँ रहन चाहन्थे तर पुरानो पतिको लुच्चोपन र बाध्यताले गर्दा त्यो इच्छा उनको पूरा भएको थिएन । श्रीमती पनि पूर्वपति निस्किऊन् भन्ने चाहन्थिन् तर कताकता उनले दु:ख पाउने हुन् कि भन्ने उनलाई डर पनि थियो । छोरा के सोच्दो होलान् त्यो मैले अनुमानै गर्न सकिनँ । कताकता ती महिलालाई सायद पूर्वपतिको डर पनि थियो किनकि पहिला-पहिला रक्सी पिएको अवस्थामा उनले गर्ने व्यवहार निक्कै आक्रामक हुने गर्दथ्यो रे । जे भए पनि चाहे डरले होस् चाहे करले होस् चाहे बाध्यताले होस् वा चाहे मायाले होस् त्यहाँ एउटै छतमुनि केही व्यक्ति बसेका भने थिए, जीवन चलेको पनि थियो तर खुसीचाहिँ कोही थिएनन् । निश्चित रूपमा पूर्वपति त्यहाँ रिजेक्टेड नै थिए तर पनि बाध्यतावश स्वीकार गरिएका थिए । अझ भनौँ भने ती पूर्वपति लाज-शरम पचाएर जबर्जस्ती त्यो घरमा बसिरहेका थिए ।
मलाई पनि लाग्यो वास्तवमै ती पतिले बुझेर घर छोड्नुपथ्र्यो । आफूले डिभोर्स गरिसकेपछि श्रीमतीलाई स्वतन्त्र छोड्नुपथ्र्यो । आफ्नो असमर्थताको कारण त्यो घरमा बसेर सबैलाई टेन्सन दिनुहुन्थेन तर के गर्ने यो कुरो ती पतिले बुझेनन् वा बुझेर बुझपचाइरहेका थिए । जे होस्, एउटा कुरा मलाई विश्वास भयो ती पूर्वपतिको त्यो घरमा कुनै इज्जत थिएन, मान-मर्यादा थिएन, र त्यहाँ बसिरहने अधिकार पनि थिएन । नेपाली शब्दमा भन्दा उनी नकच्चरो भएर बसिरहेका थिए ।
अहिले पनि ती पति र ती परिवार मेरो मनमा आइरहन्छ । नेेपालमा त्यस्ता पनि मैले देखेको थिइनँ तर विगत केही वर्षदेखि ६०१ सङ्ख्याका यस्तै पति प्रवृत्तिका सभासद् भनिने, व्यक्तिहरू यो मुलुकमा देखापर्न थाले । नयाँ जनआन्दोलन ल्याएपछि के-के न गर्लान् भनेर नेपालीले यी ६०१ लाई दुई वर्षका लागि आफ्ना अधिकार दिएर आफ्नो जीवनको निर्णय गर्न पर्ठाई तिनका लागि भत्ता, गाडी, सुविधा दिन आफ्ना पेट काटेर पनि कन्जुस्याइँ नगरी दिएका थिए । देशको चाबी नै उनीहरूलाई सुम्पिएर नेपाली नयाँ नेपालको कल्पना गर्न थाले । दुई वर्ष बित्यो । वास्तवमा त्यसै दिनबाट ती सभासद्को म्याद समाप्त भयो । उनीहरूसँग हाम्रो जीवनसँगै जान सक्तैन भन्ने विश्वास नेपालीलाई त्यसै दिन भयो । यी सभासद् भनिनेहरू अब नेपालीको चाबी नेपालीलाई फर्काई मैले वाचा पूरा गर्न सकिनँ भनेर आ-आफ्नो बाटो लाग्लान् र नयाँ मानिसलाई चाबी देलान् भनेर नेपालीले सोचिरहेका थिए तर त्यस्तो भएन । उनीहरू त उल्टो आफ्नो म्याद आफैं थप्दै त्यो घरमा जबर्जस्ती बस्न थाले । एकपटक एक वर्षका लागि आफैं म्याद थपे पनि त्यसपछि त यो घरबाट निस्केलान् कि भनेर मनमनै सराप्दै नेपाली बसे तर एक वर्षपछि पनि तिनले फेरि आफ्नो म्याद आफैं थपी यो घरलाई झनै नरकमय बनाउने काम गरे । अब त यी सभासद् भन्नेहरूको स्थिति नेपालीका लागि ठ्याक्कै मेरो महिला मित्रको तिनै पूर्वपतिको जस्तै भएको छ । जसरी उनको घरमा ती पतिप्रति सबैको आक्रोश थियो त्यही आक्रोश अहिले सभासद्हरूप्रति नेपालीको छ ।
जसरी डिभोर्सपछि ती पतिको त्यो घरमा बस्ने अधिकार थिएन त्यसैगरी सभासद्हरूको पनि दुई वर्षपछि आफ्नो म्याद आफैं थप्ने अधिकार थिएन । जसरी ती पतिले आक्रामक व्यवहार गरी श्रीमतीलाई तर्साएका कारण डरले पनि त्यहाँ बस्न मद्दत मिलेको थियो त्यसैगरी यहाँका राजनीतिक पार्टीहरूले पनि आफ्ना सेना, सरकारी सुरक्षा निकाय, भ्रातृ सङ्गठनमार्फत जबर्जस्ती बानेश्वरको संसद्भवन कब्जा गर्न सफल भएका छन् । जसरी विवाहपश्चात् ती पतिले आफ्नो कर्तव्य निभाउन नसकेपछि पत्नीले ती पतिलाई छोडिन् त्यसैगरी यी सभासद्हरूले पनि समयमा संविधान बनाउन नसकेपछि नेपालीको विश्वास गुमाइसकेका छन् ।
त्यसैले मेरो सभामुख सुवासचन्द्र नेम्वाङज्यूलाई सीधै यो लेखमार्फत अनुरोध छ कि मैले यो लेखमा दर्शाएको पूर्वपतिको सत्यकथा सदनमा सुनाइदिनुहोस् र आफैंले आफ्नो म्याद थपेर जबर्जस्ती संसद्भवनमा छिर्ने सांसदहरूको व्यवहार कतै तिनै लाज-शरम पचाएर त्यो घरमा जबर्जस्ती बसेका पतिको व्यवहारसँग त मिलिरहेको छैन ? भनी एकपटक सोच्न लगाइदिनुहोस् । वास्तविकता यही हो कि नेपालीबीच तपाईंहरूको यो उपस्थिति अब ज्यादै अप्रिय र अप्ठ्यारो बनिसकेको छ । छिटोभन्दा छिटो बरु आफ्नो काम पूरा गरी संसद् भवनछोड्ने काममा लागिहाल्नुहोस् । ‘सभामुखज्यू संसद्मा भनिदिनुस् है यो त अति भयो ।’