भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे भारत र नेपालद्वारा समीक्षा

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे भारत र नेपालद्वारा समीक्षा



भारत र नेपालले भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न गरेका छन् । बिहीबार आयोजित उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा)का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह-अध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा गर्नका लागि सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।

बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यसअघि जेपीएमसीको बैठक २०७६ फाल्गुण २५ गते भएको थियो ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समीक्षा गऱ्यो ।

आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार वटा निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरे ।

जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति गरिएको बताइएको छ ।