‘भीडभाड नगर्न’ जारी गरिएको आदेशको विरोध भएपछि गृह मन्त्रालयको बेग्लै वक्तव्य

‘भीडभाड नगर्न’ जारी गरिएको आदेशको विरोध भएपछि गृह मन्त्रालयको बेग्लै वक्तव्य


सरकारले बिहीबार मध्यरातदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने/नगराउने आदेश जारी गरेको हो ।

सरकारको यस आदेशको जनस्तरबाट विरोध गरिएपछि गृहमन्त्रालयले बिहीबार साँझ एक सूचना जारी गर्दै सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।