खासमा कस्तो हुनुपर्छ ‘गैरआवासीय नेपाली संघ’ ?

खासमा कस्तो हुनुपर्छ ‘गैरआवासीय नेपाली संघ’ ?



कसैले मलाई ‘अब कस्तो एनआरएन ?’ भनेर सोधे म सिर्फ यत्ति भन्नेछु- पुल जस्तै । यताकालाई पनि तार्ने, उताकालाई पनि तार्ने ! यस्तो एनआरएनए, जो विवादभन्दा माथि होस्, राजनीतिभन्दा पर होस्, निरन्तर समाजसेवामा समर्पित होस्, समृद्ध नेपालका लागि दीगो लगानी गरोस्, जहाँ भए पनि सधैं नेपालीको दुःख-सुखमा साथै होस् र मातृभूमि अनि कर्मभूमिको सम्बन्धको पुल बनोस् ।
  • गौरीराज जोशी

केही वर्षयतादेखि यो प्रश्नको जवाफ मैले पटक-पटक आफैंभित्र खोज्ने प्रयत्न गर्दै आएको छु । अझ हिजो-आज झन् गहिरो रूपमा यस सवालको जवाफ खोजिरहेको छु । पछिल्लो समय डेलीगेट्स छनौटका विषयलाई लिएर परराष्ट्र मन्त्रालयसम्म पुऱ्याइएको अनावश्यक विवाद र निर्वाचनका समयमा देखिने तनावले गिराएको यो संस्थाको साखले लाखौँ गैरआवासीय नेपाली (एनआरएन) जस्तै मलाई पनि सोच्न, आफैंमा प्रश्न गर्न र जवाफ खोज्न बाध्य बनाएको छ ।

समयक्रममा दिन-प्रतिदिन पूर्णतः सँस्थागत बन्दै जानुपर्ने एनआरएनए झन्-झन् अराजक र विवादित बन्दै गइरहेजस्तो देखिनु चिन्ताको विषय हो । यो चिन्ताको विषयसँगै – कस्तो एनआरएनए ? कसका लागि एनआरएनए ? किन एनआरएनए ? भन्ने प्रश्न उब्जिएको छ ।

यसै पनि, अक्सर मान्छेहरू ठान्छन्- एनआरएनका नेतृत्वकर्ताहरू सिर्फ पैसाको बलमा चलेका छन् । हुन पनि कतिपय अवस्थामा पैसाको राप र तापको खेल अनि नेपाली राजनीतिको छाया यसमा परेको जस्तो देखिन्छ पनि ! यो पारा यस्तै रहने हो भने आगामी दिनमा एनआरएनएले अझ बढी विश्वास र सम्मान गुमाउने छ ।

यसैले अहिले आफ्नो व्यक्तिगत अहम्, तुष्टि र महत्वाकाङ्क्षालाई छाडेर एनआरएनएको साखलाई फेरि माथि उठाउन पहल गर्नुपर्ने बेला आएको छ । जति ढिलो गऱ्यो र विवादहरू बढायो त्यत्ति नै त्यो तन्किँदै जान्छ । यसैले आजैदेखि सोचौँ, ढिलो नगरौँ । आफैंमा प्रश्न गरौँ- हामी केका लागि आपसमै लडिरहेका छौँ ? वास्तवमा हामीले कस्तो एनआरएनए खोजिरहेका छौँ ?

अरुको बारेमा म भन्न सक्दिनँ, मेरो हकमा चाहिँ.. हिजोआज मलाई पैसा र महत्वकाङ्क्षाले भन्दा पनि यस्तो भावानाले बढी चलाउँछ, जो मेरो मातृभूमि नेपालसँग जोडिएको छ । यस्तो भावना, जो मेरो जन्मस्थल चितवनसँग जोडिएको छ । यस्तो भावना, जो मेरो जन्मस्थल वा त्यसवरपर सानो वा ठुलो सहयोग गर्न पाउँदा हुरुक्क हुन्छ । यस्तो भावना, जो भुकम्पले भत्काएका घर फेरि ठडिएको देख्दा फुरुङ्ग हुन्छ । यस्तो भावना जो सुदूरपश्चिममा रक्त सङ्कलन र सञ्चित गर्नका लागि ब्लड बैंक बस उपलब्ध गराउन पाउँदा अलिकति भए पनि सन्तोष मान्छ ।

यस्तो भावना, जो सदैव कुनै न कुनै रूपमा मातृभूमि नेपाल र नेपालीसँग जोडिरहन चाहन्छ । यसैले त जब–जब नेपालमा वा नेपालीमा कुनै खालका आपत-विपत आइलाग्छन्, तब-तब हामीलाई सबैभन्दा पहिला छिटो आफू त्यहाँ पुग्न मन लाग्छ । मेरो विचारमा एनआरएन पैसा र लगानीको विषय मात्र भन्दा पनि बढ्ता भावनाको विषय हो ।

पैसा त एनआरएनका संस्थापक उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्तहरूले उतैतिर कमाएकै थिए । तर उनीहरू पैसा छोडेर नेपाली भावसँग जोडिन चाहे । यही भाव, जसले एनआरएन जन्मायो, म पनि यसैसँग जोडिन चाहेँ र जोडिएँ । यसको ठुलो अर्थ छ । ठुलो अर्थ अर्थात् हामी कसैगरे पनि नेपाल र नेपालीबाट टाढा छैनौँ, हुने छैनौँ । टाढा हुन चाहेर पनि टाढा हुन सक्ने छैनौँ । एनआरएनको यो भन्दा ठुलो अर्थ अरु के हुन सक्छ ? मैले कति ठुलो वा सानो कम्पनी अमेरिकामा चलाइरहेको छु वा मेरो कम्पनीमा कतिले रोजगारी लिइरहेका छन् ? यो मेरो निम्ति आजभोलि त्यति ठुलो कुरा होइन, ठुलो कुरा यो हो कि म नेपाल र नेपालीको कति नजिक छु ? यही नजिक हुने एउटा असाध्यै महत्वपूर्ण अभियान हो एनआरएनए ।

यस्तो एनआरएनए…

  • विवादभन्दा माथि
  • राजनीतिभन्दा पर
  • निरन्तर समाजसेवामा
  • समृद्ध नेपालका लागि दीगो लगानी
  • जहाँ भए पनि सधैं नेपालीसँगै
  • मातृभूमि र कर्मभूमिबीचको पुल

कोही मान्छे किन विदेशियो ? यसमा अनेक बहस र तर्कहरू हुन सक्छन् । तर तर्क र बहसमा समय खचिर्नु भन्दा पनि म समय खर्चिन चाहन्छु- विदेशिएका म वा हामीजस्ता नेपालीले कसरी नेपाल र नेपालीलाई सम्झिरहेका छौँ ?

हो, यही सम्झना मात्र पनि मेरो लागि एनआरएनए हो । एनआरएनएलाई म नेपालको पृथक विषय कदापि ठान्दिनँ । एनआरएनए नेपाल र नेपालीसँग असाध्यै जोडिएको जबर्जस्त भावनात्मक विषय हो ।

तर भावानले मात्र त न उताको जिन्दगी चल्छ न यताको । भावनाका कुरा पनि धेरै भइसके । अब एनआरएनले भौतिक रूपमा पनि देखिने गरी मातृभूमिको समृद्धिमा योगदान गर्नु छ । दश अर्बको एनआरएनए नेपाल विकास कोष यसको एउटा कोशेढुंगा हुन सक्छ भन्ने मेरो विश्वास छ । यो कोष हामी गैरआवासीय नेपालीले नेपाल सरकार र नेपालीको मन जित्ने एउटा खुड्किलो हो भन्ने म ठान्छु । यसैले यो कोषलाई सही, प्रभावकारी, पारदर्शी रूपमा प्रयोग गरेर देखाउने चुनौती हामी ‘एनआरएन’माथि छ । यसैले यो कोषलाई अझ बढाउन, परिचालन गर्न र प्रतिफल प्राप्त गर्न बलियो संयन्त्र र विश्वासिला आधारहरू खडा गर्नु जरुरी छ ।

हुन त, समग्र राष्ट्रका लागि दश अर्ब साह्रै ठुलो महत्वको विषय नहुन सक्छ, तर यो अरु थप ठुला योगदानहरूको बाटो खोल्ने ढोकाचाहिँ पक्कै हो । यसैले दश अर्बको नेपाल विकास कोषलाई गैरआवासीय नेपालीहरूले संवदेनशील रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।

खासमा हामी गैरआवासीय नेपाली अर्थात् एनआरएन भनेका पुलजस्तै हौँ, यस्तो पुल जसले मातृभूमिका नेपालीलाई र कर्मभूमिका नेपालीसँग जोड्छ । यस्तो पुल जसले वारिका नेपाली र पारिका नेपालीलाई भावनात्मक र भौतिक, दुवै रूपमा जोड्छ, जोडिरहन्छ ।

कसैले मलाई ‘अब कस्तो एनआरएन ?’ भनेर सोधे म सिर्फ यत्ति भन्नेछु- पुल जस्तै । यताकालाई पनि तार्ने, उताकालाई पनि तार्ने ! यस्तो एनआरएनए, जो विवादभन्दा माथि होस्, राजनीतिभन्दा पर होस्, निरन्तर समाजसेवामा समर्पित होस्, समृद्ध नेपालका लागि दीगो लगानी गरोस्, जहाँ भए पनि सधैं नेपालीको दुःख-सुखमा साथै होस् र मातृभूमि अनि कर्मभूमिको सम्बन्धको पुल बनोस् ।

(पङ्क्तिकार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव एवम् आसन्न निर्वाचनका लागि महासचिवका उम्मेदवार हुन् ।)