राष्ट्रिय ए डिभिजन फुटसल लिग : लुम्बिनी पनि रेलिगेसनमा

राष्ट्रिय ए डिभिजन फुटसल लिग : लुम्बिनी पनि रेलिगेसनमा



रेफ्रीमाथि जाइलागे खेलाडी

राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसँग ६–५ को हार ब्यहोरेसँगै रेलिगेसनमा परेको हो । जितसँगै राइजिङको ८ खेलबाट १६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको समान खेलबाट ४ अंक मात्रै रहँदै रेलिगेसनमा परेको हो ।

राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाक, सुदिप गुरुङ, हेमन्त थापा मगर र मिलन राइले गोल गरे । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवाशीस शर्माले गोल गरे ।

शनिबार भएको दोस्रो खेलमा स्पोर्टस्क्या सलले फुटसल ५ धरान विरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो । धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए । १०औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिए पनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाए ।

निकै दबाबमा परेको क्यासलका सुमित श्रेष्ठले ३७औँ मिनेटमा बराबरी गोल फर्काए । क्यासलका कप्तान अञ्जन देवकोटाले ४०औँ मिनेटमा गोल गर्दै जित दिलाए ।

खेल सकिए लगत्तै केहीबेर विवादसमेत भयो । धरानका प्रशिक्षक तथा खेलाडीहरू रेफ्रीमाथि जाइलाग्न खोजेपछि रेफ्रीले प्रशिक्षक विश्वास लामा, म्यानेजर जीवन आले मगर र सुजन खड्कालाई रातो कार्ड दिए । यसअघि धरानका गोलरक्षक धीरज तामाङले रातो कार्ड पाएका थिए । यो लिगकै सबैभन्दा बढि रातो कार्ड देखाइएको म्याच हो । खेलको म्यान अफ् दी म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।