महिलाको मृत्युलाई परिवारले ‘आत्महत्या’ र माइतीपक्षले ‘हत्या’ भनेपछि घटना रहश्यमय

महिलाको मृत्युलाई परिवारले ‘आत्महत्या’ र माइतीपक्षले ‘हत्या’ भनेपछि घटना रहश्यमय


  • एस क्षेत्री, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ मा एक नवविवाहित महिलाको मृत्यु रहस्यमय बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीया पत्नी सरस्वती कौशलको मृत्युलाई परिवारजनले ‘आत्महत्या’ र मृतकका माइती पक्षले ‘हत्या’ हो भन्ने सूचना प्रहरीलाई दिएपछि घटना रहस्यमय बनेको हो ।

मृतक सरस्वतीका दाजु संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलमाथि आफ्नो बहिनीको हत्या गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो । मृतक बहिनीलाई विवाहपछि दाइजोको रुपमा मोटरसाइकल थप चाहियो भन्दै आफ्ना ज्वाइँ र उनको घरपरिवारबाट पटक पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजयले बताए । बहिनीको हत्यालाई आत्महत्या बनाएर घटनालाई मोड्न खोजिएको उनको आरोप छ ।

‘आत्महत्याको घटना थियो भने, प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चुकुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनुभन्दा पहिल्यै झुण्डेको अवस्थाबाट तल झारिनु जस्ता गतिविधिबाट पनि बहिनीको हत्या गरिएको हो भन्ने हामीलाई लागेको छ’, दाजु संजयले भने- ‘घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्छ ।’ मृतकका पति र उनको घर परिवारले भने घटना आत्महत्या नै भएको दाबी गरिरहेका छन् ।

शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिर्पोट आएपछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ ।