ट्विटर खाता पुनर्स्थापित गर्न अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग

ट्विटर खाता पुनर्स्थापित गर्न अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन फ्लोरिडाका संघीय न्यायाधीशसमक्ष आग्रह गरेका छन् । कम्पनीले ट्रम्पको ट्विटर गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो ।

ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन् । प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लङ्घन गरेको बताएका छन् । तथापि, ट्विटरले ट्रम्पको फाइलिङमा टिप्पणी गर्न भने अस्वीकार गरेको एपीले जनाएको छ।

जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट कांग्रेसलाई रोक्नका लागि उनकाअनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएको थियो । ट्विटरका माध्यमबाट ट्रम्पले थप हिंसा भड्काउने आँकलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रतिबन्धअघि ट्रम्पको ट्विटरमा करीब ९ करोड ८० लाख फलोअर्स थिए ।

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थप हिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको यूट्यूबबाट समेत निलम्बन गरिएको थियो । फेसबुकको प्रतिबन्ध २०२३ जनवरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ ।

जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीन वटा टेक कम्पनीहरू र त्यसका सीईओविरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।