- श्रीविक्रम भण्डारी, मालदिभ्स, माले
साफ च्याम्पियनसिपअन्तर्गत आज (असोज १८) सोमबार नेपालले दोस्रो खेल्दैछ । नेपालको भिडन्त श्रीलंकासँग हुनेछ ।
साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले अहिलेसम्म पाँच पटक भिडन्त गरिसकेका छन् । पाँच पटक आमनेसामने भैसकेका यी दुई टोलीमा अहिलेसम्म श्रीलंकाको पल्ला भारी छ ।
साफ च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई एक पटक पराजित गरेको छ भने श्रीलंकाले तीन पटक । एउटा खेल बराबरीमा टुंगिएको छ ।
पहिलो खेलमा बंगलादेशसंग पराजित भएको श्रीलंका आजको खेलमा आक्रामक रूपमा प्रस्तुत हुनेछ । प्रतियोगितामा बनिरहन र फाइनलमा स्थान बनाउनका लागि आजको खेल श्रीलंकाको लागि ज्यादै महत्वपुर्ण बनेको छ । यसरी आज श्रीलंका दबाबमै भए पनि नतिजा आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैन ।
आयोजक मालदिभ्सलाई पराजित गरेर सहज स्थितिमा रहेको नेपालको लागि पनि आजको खेल निकै महत्वपूर्ण मानिएको छ । नेपालले श्रीलंकाविरूद्धको आजको खेल जितेमा फाइनलमा प्रवेश गर्न सहज हुने देखिन्छ । आजको खेल जितेमा भारत र बङ्लादेशबीच हूने अन्य खेलमा नेपालले बराबरी गरे पनि फाइनल पुग्ने सम्भावना देखिन्छ । त्यसैले आजको खेल नेपाल र श्रीलंकाका लागि गर कि मरको स्थितिमा छ ।
आयोजक राष्ट्र मालदिभ्सलाई पराजित गरेको नेपाल आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रने पक्का छ । नेपालको एउटै लक्ष्य जित्नु मात्र हुनेछ । तर बङ्गलादेशसँग पेनाल्टी गोल खाएर पराजित भएको श्रीलंका घाइते बाघको रूपमा मैदानमा उत्रिने छ । त्यसैले आजको खेल निकै रोमाञ्चक र सनसनीपूर्ण हुने विश्वास गरिएको छ ।
साउथ एसियाली खेलकुदमा नेपालले चार पटक स्वर्ण पदक जित्न सफल भए पनि साफ च्याम्पियनसिपमा त्यस्तो उपलब्धि हासिल गर्न सकेको छैन । साफ च्याम्पियनसिपको इतिहास पल्टाउँदा अहिलेसम्म नेपाल फाइनलमा प्रवेश गर्न सकेको छैन । अब यो १३औं संस्करण नेपालले कस्तो प्रदर्शन गर्छ, यो चासोको विषय बनेको छ ।
प्रतिक्रिया