प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार भ्रामक भएको सर्वोच्चको दाबी

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार भ्रामक भएको सर्वोच्चको दाबी



प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्‌मा भागबण्डा खोजेको भनेर सार्वजनिक भएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सर्वोच्च अदालतले समाचार सत्य नभएको जिकिर गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा भाग खोजेको भनी प्रकाशित समाचारको खण्डन गरेको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीशको नाम जोडेर प्रकाशित समाचारप्रति ख‍ेद प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय हो । नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशिलताका साथ क्रियाशिल रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लान्छित गर्नु अत्यन्त दुःखद् अवस्था हो ।’

मिथ्यापूर्ण समाचारको भ्रममा नपर्न आम नागरिकमा अनुरोध गर्दै विज्ञप्तिमा न्यायपालिकासँग सम्बन्धित समाचार प्रकाशन गर्दा तथ्य बुझेर आधिकारिकता प्रमाणित गरेर मात्र प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरिएको छ ।