जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुङ्गा बरामद गरेको छ ।
जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रनि कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुङ्गा बरामद गरेको हो । सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुङ्गाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
“बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शङ्कास्पदरूपमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छौँ”, उनले भने, “जयधनीकै घरमा खानतलासी गर्दा तीनवटा प्लाष्टिकको कट्ठामा अवैध तरिकाले लुकाइछिपाइ राखेको काइनेटिक ढुङ्गा बरामद गरिएको छ ।”
प्रनि शाहीका अनुसार काइनेटिक ढुङ्गा रु दुई लाख बराबर छ । नियन्त्रणमा लिइएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाइएको छ ।
प्रतिक्रिया