दुषित पानी वा खेतको माछा खाँदा महामारी बढेको हुन सक्ने चिकित्सकहरूको आशंका
- कपिलबस्तु प्रतिनिधि
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको महामारी बढ्दो छ । गत आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ भने तीन सय बढी बिरामी छन् ।
झाडापखालाको महामारीका कारण कृष्णनगर नगरपालिकाको वडा नं. ९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको बताइएको छ ।
कश्यपको निजी क्लिनिकमा उपचारको क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्यु भएको मृतकपरिवारको भनाइ छ । अस्पताल श्रोतका अनुसार ३५ जना बिरामीलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ भने एक सय जना सन्चो भइ घर फर्केको अवस्था छ ।
शिवराज अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट मुकेश चौधरीले अस्पतालमा भर्ना रहेका एक सय ६५ जना बिरामीको अझै पनि उपचार भइरहेको बताएका छन् ।

महामारी बढ्दै गएपछि स्थानीय निजी क्लिनिक र स्वास्थ्यचौकीहरू पनि भरिभराउ छन् । पानीबाट फैलिने रोग भएकोले दुषित पानी वा खेतको माछा खाँदा महामारी बढेको हुन सक्ने चिकित्सकहरूको आशंका छ ।
महामारी नियन्त्रण तथा बिरामीहरूको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवाबाट चिकित्सकहरूको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताएका छन् । त्यस्तै शिवराज नगरपालिका र कृष्णनगरको विभिन्न स्वास्थ्यचौकीहरूबाट पनि चिकित्सक र नर्सहरू खटाइएको उनले बताए ।
महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँ ग्रसित छन् ।
बिरामीहरूको उपचार तथा महामारी नियन्त्रणमा कुनै कन्जुस्याइ नरहेको नगरप्रमुख रजत प्रताप शाहले बताएका छन् । उनले महामारी फैलिएको सबै वडामा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू गर्न सम्बन्धित वडाध्यक्षलाइ निर्देशन दिइएको बताए ।

प्रतिक्रिया