विकल्प नखोजौँ : एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल

विकल्प नखोजौँ : एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा चमत्कारी व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । पछिल्लो समय शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि प्रमुख भूमिका निर्वाह गरिरहनुभएका प्रचण्ड समकालीन नेपाली राजनीतिमा सबैले स्वीकार गरेको शीर्ष राजनेताको रूपमा स्थापित हुनुहुन्छ । निकै व्यस्त समयका बाबजुद मंगलबार घटना र विचार साप्ताहिकका लागि ऋषि धमलासँग गर्नुभएको सङ्क्षिप्त कुराकानी :
सरकार परिवर्तनको हल्ला चल्न थालेको छ नि ?
खोइ, त्यस्तो हल्ला चलेको मलाई थाहा छैन । कसैले व्यक्तिगत विचार राख्दैमा सरकार परिवर्तन भइहाल्छ भन्न मिल्दैन । संस्थागत रूपमा कुनै पनि पार्टीले यो सरकार परिवर्तनको कुरा गरेका छैनन् र त्यो अहिले सम्भव पनि छैन ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खोज्न किन सकिँदैन ?
अहिले सरकार परिवर्तन गर्ने बेला पनि होइन । यो कुरा गर्नु
भनेको शान्ति र संविधान निर्माण कार्यलाई ‘डिले’ गर्नु हो । त्यतातर्फ कसैले ध्यान दिनुहुँदैन । अहिले सबैको ध्यान शान्ति र संविधानको सुनिश्चितताका लागि हुनुपर्छ । राष्ट्रिय सहमतिको वातावरण बनिरहेको छ । त्यसैले सत्ता परिवर्तनका लागि कुरा गर्नु हुँदैन । यसले वातावरणलाई बिथोल्छ । त्यसैले म बाबुरामजीको विकल्पको कुरा गर्न चाहन्नँ, यो समय सान्दर्भिक हुँदैन । प्रमुख दल यही सरकारमा सहभागी भएर यसलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्छ ।
बाबुराम भट्टराईको नेतृत्वमा काङ्ग्रेस र एमाले आउलान् त ?
आउनुपर्छ, मलाई विश्वास छ, काङ्ग्रेस र एमाले पनि बाबुरामजीकै नेतृत्वको सरकारमा सहभागी हुनैपर्छ । अहिले म त्यसको विकल्प देख्दिनँ ।
राजीनामा मागिसके नि त अरू दलले त ?
राजीनामाको कुरा छाडिदिनुस्, म अहिले यसको पक्षमा छँदै छैन । शान्ति र संविधान निर्माण प्रक्रिया यसरी ‘स्मुथली’ अगाडि बढिरहेको छ, यसलाई कमजोर बनाउने काम कसैबाट हुनुहुँदैन । अहिले बाबुरामजीको विकल्प खोज्नु भनेको शान्ति र संविधान निर्माणको कार्यलाई ‘डिले’ गर्नु हो ।
तपाईंकै पार्टीभित्रबाट वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले राजीनामा माग्नुभएको छ, अनि कसरी सहमति हुन्छ ?
किरणजीसँग मेरो कुराकानी भइरहेको छ । किरणजीको समूहका साथीहरूलाई यही सरकारमा सहभागी गराउने पक्षमा म छु । मलाई विश्वास छ उहाँहरू पनि यही सरकारमा सहभागी हुनुहुनेछ ।
माओवादी विभाजनको कुरा आएको छ नि ?
त्यस्तो कल्पनै नगर्नुस्, म माओवादीलाई कुनै हालतमा फुट्न दिन्नँ । पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन म कुनै कसर बाँकी राख्दिनँ । अब केन्द्रीय समितिको बैठकले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध र क्रान्तिकारी बनाएर अगाडि बढाउँछ ।
किरणजीले अगाडि सार्नुभएको फरक मतको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
त्यसबारे किरणजीसँग कुरा भइरहेको छ । केन्द्रीय समितिको बैठकले पार्टीभित्रको सबै विवादको समाधान गर्छ ।
शान्तिप्रक्रिया निष्कर्षमा पुगेर जेठ १४ भित्र संविधान जारी होला त ?
शान्तिप्रक्रिया त अगाडि बढ्यो-बढ्यो । पुनर्वर्गीकरण सकिइसकेको छ, अब समायोजन प्रक्रिया सुरु हुन्छ र स्वेच्छिक अवकाशमा जानेलाई रकम दिएर बिदा गरिन्छ । त्यसैले जेठ १४ भित्र खनै नयाँ संविधान जारी गरेर नेपाली राजनीतिक दलहरूले अर्को चमत्कार गर्न सक्छन् भन्ने मलाई विश्वास छ ।
काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने पालोचाहिँ कहिले आउँछ नि ?
शान्तिप्रक्रिया निष्कर्षमा पुगेर नयाँ संविधान जारी भएपछि चुनावी सरकारको नेतृत्व काङ्ग्रेसले गरे पनि फरक पर्दैन । त्यस विषयमा हामीबीच अनौपचारिक सहमति भइसकेको छ । तर, अहिले सहमतिको सरकारचाहिँ बाबुरामजीकै नेतृत्वमा हुनुपर्छ र त्यसमा काङ्ग्रेस र एमाले पनि सहभागी हुनुपर्छ ।

हो, हामी बादलजीलाई प्रस्ताव गर्दै छौँ-मोहन वैद्य (उपाध्यक्ष, एनेकपा, माओवादी)
० विवाद बढ्दाबढ्दै माओवादी पार्टी त फुट्ने अवस्थामै पुग्यो भनिन्छ, हो ?
– होइन । पार्टी फुट्ने भन्ने विषयलाई विभिन्न कोणबाट जसरी चर्चामा ल्याइएको छ यो यथार्थसँग मेल खाने विषय होइन ।
० तपाईंकै पार्टीसचिव सीपी गजुरेलले फुटको तिथि तोकिन मात्रै बाँकी रहेको घोषणा किन गरिदिनुभयो त ?
– उहाँले कुन सन्दर्भमा कुनै हिसाबले अभिव्यक्ति दिनुभयो र त्यसलाई बुझ्ने या प्रचारमा ल्याउनेले के बुझेर कसरी सार्वजनिक गरे भन्ने कुरा खोजीको अर्कै पार्टी बन्न सक्छ, तर पार्टी फुट्ने कुराचाहिँ सत्य होइन । मैले सीपीजीसँग यसबारे कुरा गर्दा ‘मेरो आशय त्यस्तो थिएन तर बङ्ग्याउने काम भयो’ भन्नुभएको छ ।
० त्यसो भए माओवादी पार्टी फुट्ने कुरा फगत हल्ला हो, त्यस्तो सम्भावना नै छैन, होइन त ?
– पार्टी फुट्दै फुट्दैन, यो फुट्ने चिज नै होइन भनेर निरपेक्ष रूपमा भन्न सकिने कुरा त भएन । अहिलेको सन्दर्भमा चाहिँ विभिन्न विषयमा वा मुद्दाहरू तीव्र छलफल, बहस, असहमतिहरू भएका मात्र हुन्, यसलाई फुट्ने अभ्यासका रूपमा लिन मिल्दैन । पार्टी भनेको सिद्धान्त हो, विचार हो, कार्यदिशा हो, नीति हो, यी सबैको समग्रता हो पार्टी । यसैमा छलफल र बहस चलिरहेको हो । आगामी ८ गते पार्टीको बैठक छ, त्यसमा पनि यस्ता बहस त उठ्नै नै छ ।
० कहाँ गएर टुङ्गिएला त तपाईंहरूको यो बहस –
– यसको भविष्यवाणी त म अहिले गर्न सक्दिनँ । म यति मात्र अहिले भन्न सक्छु कि त्यो बहसलाई सकारात्मक दिशा प्रदान गर्न पार्टीका सबैले पहल गर्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ । मेरो पहल यसैमा हुनेछ ।
० बहस र विवादबीच पनि तपाईंले पार्टी अध्यक्ष प्रचण्डलाई त भेटिरहनुभएको छ, के कुराकानी भयो पछिल्लो भेटमा ?
– अध्यक्षसँग मेरो भेटघाट र कुराकानी हुनु त स्वाभाविक नै छ, यसमा विषयलाई अनौठो या विशिष्ट परिघटनाका रूपमा किन लिनुपर्‍यो ?
० अध्यक्षले तपाईंसँग निकै गुनासो गर्नुभएछ नि, होइन ?
– गुनासो त भइहाल्छ । मेरो पनि गुनासो हुन्छ र उहाँको पनि नहुने कुरै भएन । पार्टीको जीवन भनेकै यही नै त हो- गुनासो, बहस, छलफल चलिरहनुपर्छ ।
० खास के गुनासो रहेछ प्रचण्डजीको तपाईंप्रति ?
– त्यस्तो तोकेर भन्नुपर्ने गुनासो केही छैन । संविधान निर्माणबारेका कुराहरू थिए ।
० प्रचण्डसँग तपाईंको गुनासोचाहिँ के हो नि ?
– मेरो व्यक्तिगत गुनासो त केही होइन, तर मुलुकको राजनीतिक परिस्थिति अलिक जटिल छ, त्यसैले हाम्रो अध्यक्षले मूलत: दुईवटा कुरामा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ- देश र जनताको हितमा कसरी अगाडि बढ्ने, संविधान कसरी बनाउने, नयाँ नेपाल निर्माण कसरी गर्ने भन्ने विषयमा ठूलो पार्टीको अध्यक्षका नाताले उहाँले सशक्त भूमिका खेल्नुपर्नेमा अलिक अर्कै प्रकारले अल्मलिनु भएजस्तो देखिन्छ । अर्को कुरा, पार्टीमा यत्रो बहस र छलफल छ, दुईलाइन सङ्घर्ष छ, यसको सही समाधान कसरी गर्ने भन्ने सवालमा पनि अध्यक्षको हैसियतले विशिष्ट भूमिका खेल्नुपर्छ । यही नै हाम्रो गुनासो र माग पनि हो ।
० दुईलाइन सङ्घर्षलाई निकास दिन अध्यक्षले के गर्नुपर्छ भन्ने तपाईहरूको चाहना हो त ?
– त्यो कसरी गर्नुपर्छ भनी मैले भन्नुभन्दा पनि उहाँले नै जान्ने कुरा हो, उहाँले आफ्नो विवेक र खुवी प्रयोग गर्नुपर्‍यो ता कि यस्ता विवाद र गुनासाहरू पैदा नहुन् । हाम्रा कुराहरू बुँदागत रूपमा पार्टी बैठकमा राखिसकिएको छ । अब सही ढङ्गले निकास निकाल्नुपर्‍यो ।
० सही निकास निस्केन भनेचाहिँ पार्टी फुट्ने ?
– एकता र फुटका कुरा नगरौँ । यो हल्ला गरेर हुने कुरा पनि होइन । पार्टी बन्ने, टुट्ने क्रम त अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चलिरहेकै कुरा हुन् । टुट्छ पनि र एकता हुन्छ पनि । विश्व कम्युनिस्ट इतिहास नै द्वन्द्ववादले भनिएको हुन्छ । एकता, सङ्घर्ष, रूपान्तरण र फुट अनि फेरि एकता † यसलाई अनौठो रूपमा हेर्नुपर्दैन । देशको राजनीतिक परिस्थितिसापेक्ष हुन्छ यस्ता कुरा । क्रान्तिकारीहरूले कहिले विद्रोह गर्नुपर्ने हुन्छ पार्टीभित्रै, त्यसलाई फुट भन्न मिल्दैन । एकता, सङ्घर्ष र रूपान्तरणको प्रक्रियामा हामी छौँ, यति मात्र बुझिदिए हुन्छ द्वन्द्व बाहिरबाट अहिले ।
० तपाईंको कुरा प्रचण्डजीले आत्मसात् गर्न छोड्नुभयो भन्ने पनि छ नि, तपार्इंलाई के लाग्छ ?
– मेरो व्यक्तिगत कुरा सुन्नुपर्छ भन्ने पनि छैन, उहाँले सबैका कुरा सुन्नुपर्छ । सही कुरा जसको पनि सुन्नुपर्छ, त्यो उहाँको पनि कर्तव्य हो र हाम्रो पनि ।
० अहिले अध्यक्ष र तपाईंबीच द्वन्द्व या विवादचाहिँ छ भनेर बुझनुपर्‍यो होइन हामीले ?
– विवाद जसको जोसँग पनि हुनसक्छ । द्वन्द्व नभए त जीवन नै सकियो नि †
० तपाईंहरूबीचको यो द्वन्द्वलाई देखावटी या नाटकीय व्याख्या गर्नेहरू पनि छन् नि †
– द्वन्द्व नभए पार्टी नै मृत हुन्छ भनिसकेपछि पनि फेरि हाम्रो द्वन्द्वलाई देखावटी भन्न मिल्छ र ? तर्सथ यो देखावटी या बनावटी नभई एकदम स्वाभाविक हो ।
० आफैंले बनाएको प्रधानमन्त्रीलाई तपाईंले यसरी असहयोग गर्नुपरेकोचाहिँ किन हो नि ?
– बाबुरामजीलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने कुरामा त हामीले आफ्नै किसिमबाट सहमति जनाएका हौँ तर बहुत विचित्र र अपवित्र ढङ्गले, हामीलाई थाहै नदिई मधेसवादी दलहरूसँग उहाँले चारबुँदे सहमति गर्नुभो प्रधानमन्त्री बन्नकै लागि, जो सही कदम थिएन । आफ्नै दलका नेता प्रधानमन्त्री बनिसकेपछि तत्काल बढी कुरा गर्न पनि भएन हेर्नुस्, तर कमी-कमजोरीहरू थुपै्र छन्- अनि नबोली पनि भएन । पार्टीभित्र एउटा छलफल र समाधानको सूत्र नै नखोजी जग्गा फिर्ता गर्ने र नमान्नेलाई प्रहरी प्रशासन लगाएर ठीक पार्ने कुरा बाबुरामजी गर्नुहुन्छ । पार्टीको निर्णय नै नभएको विषयमा उहाँले यस्तो कुरा गर्नु सुहाउँछ त ? पार्टीलाई थाहै नदिई भारत गएर बिप्पा सम्झौता गरेर आउनुहुन्छ उहाँ । यस्ता उल्टापुल्टा काम मात्र गर्ने भएपछि अब आफ्नो भनेर हुन्छ त ? हामीले विरोधका लागि बाबुरामजीको विरोध गरेको नभई उहाँलाई सच्याउने प्रयत्न गरिरहेका हौँ ।
० बिप्पा ऐतिहासिक सम्झौता हो, यसमा अब करेक्सन हुँदैन भनिरहनुभएको छ नि बाबुरामजीले, अब के भन्नुहुन्छ ?
– हाम्रो पार्टीले मानेको छैन, सिङ्गै देशले मानेको छैन, अनि कसरी त्यो सही हुन्छ ? एउटा क्रान्तिकारी पार्टीको नेताले गर्न सुहाउने कुरा होइन यो । बाबुरामजी सच्चिनुपर्छ ।
० नसच्चिए के हुन्छ ?
– नसच्चिए उहाँलाई नै घाटा हुन्छ, उहाँले आफ्नो जिम्मेवारीबाट पन्छिनुपर्ने हुन्छ ।
० अन्तर्राष्ट्रिय समर्थनका कारण पनि यो सरकारको विकल्प छैन भन्नुहुन्छ नि प्रधानमन्त्री भट्टराई त ?
– सरकारमा जाने-नजाने, बस्ने-नबस्ने सवालमा पहिलो कुरा त पार्टीको निर्णय हुन्छ हेर्नुस्, दोस्रो कुरा अन्य पार्टीहरूका बीचमा पनि सहमति बन्नुपर्छ, यो मुलुकका आन्तरिक कुरा हुन् । यस्तो आन्तरिक कुरालाई चटक्कै छोडेर एकैचोटि उहाँले अन्तर्राष्ट्रिय कुरा गर्न सुहाउँदैन । प्रधानमन्त्री भनेको देश र जनताका लागि हो । देश र जनताले स्वीकार नगरे पनि म पदमा भइराख्छु भनेर त हुँदैन होला । बाबुरामजस्ता व्यक्तिले सरकार या पदका लागि हिरिक्क हुन सुहाउँदैन भनेर मैले त ठाउँ-ठाउँमा भन्दै आएको छु । देश र जनताका समस्याको हल गर्न सके यो सरकारको नेतृत्व गर्नुको र्सार्थकता हुन्छ । त्यागको भावना पनि हुनुपर्छ क्या यसरी नेतृत्व गर्छ भन्ने व्यक्तिसँग । कुनै बाह्य राष्ट्र रिझाएर मात्रै त हुँदैन नि ।
० भनेपछि माओवादी पार्टी बैठकले बिप्पालाई समर्थन गर्दैन ?
– गर्दैन हेर्नुस्, पार्टीले त यसलाई खारेज नै गर्छ ।
० यसले त छिमेकी भारतसँगको सम्बन्धमा नकारात्मक असर पार्ने भयो नि त ?
– कुनै पनि विवादित विषयहरूमा सम्झौता नगर्ने भन्दाभन्दै सुटुक्क गरेपछि राम्रो परिणाम त कसरी आउँछ त †
० यसको मतलब तपाईं प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकारबाट फिर्ता बोलाउन चाहनुहुन्छ ?
– मेरा व्यक्तिगत कुरा छोड्नुस् । पार्टीले कस्तो निर्णय गर्छ भन्ने कुरा प्रमुख हो, अरू दलको सहमति के हुन्छ भन्ने पनि दोस्रो प्रश्न हो । यिनै सवालले उहाँ प्रधानमन्त्री रहने-नरहने निक्र्योल गर्छ अब । मेरो व्यक्तिगत कुरा नै सोध्नुहुन्छ भनेचाहिँ बाबुरामजी प्रधानमन्त्री भएर देश र जनताको हितमा काम गरेको मैले पाएको छैन ।
० त्यसो भए उहाँले पदबाट राजीनामा दिनुपर्छ ?
– हो, मैले यो कुरा अरूसँग भन्दा पनि उहाँसँग नै भनेको छु- बाबुरामजी तपाईं राजीनामा गर्नुस् †
० तपाईंको मतलब अब बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन, हो ?
– उहाँ कति सच्चिएर आउनुहोला, आफ्ना कुरा पार्टीमा राख्नुहोला- त्यो पनि हेर्नुपर्छ, तर मेरो विचारमा त उहाँको नेतृत्वमा सहमति बन्न गाहै्र छ । हाम्रो पार्टी प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा यतिबेला खुला छ । छलफल, बहसले नै यो टुङ्गो लगाउँछ । पार्टीको निर्णय नै सर्वोपरि हुन्छ ।
० तपाईं पार्टीको कार्यवाहक अध्यक्ष बन्दै हुनुहुन्छ भन्ने गाइँगुइँ पनि सुनिएको छ नि, हो ?
– वाहियात कुरा हो यो । मैले कतै सुनेको पनि छैन, पार्टीमा कसैले प्रस्ताव गरेको पनि छैन र मलाई ‘कार्यवाहक अध्यक्ष’ चाहिएको पनि छैन ।
० त्यसो भए पार्टीका महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर प्रचण्डसमक्ष प्रस्ताव राख्नुभएको त हो नि तपाईंले, होइन ?
– यस विषयमा अध्यक्षसँग कुरा भएकै हो भनेर बुझदा हुन्छ । बादलजी प्रधानमन्त्री हुनै हुन्न भन्ने के छ र ? यसमा प्रस्ट भए हुन्छ- हाम्रो पार्टीका तर्फबाट अबको प्रधानमन्त्रीमा बादलजीकै नाम हामी प्रस्ताव गर्दै छौँ । पार्टीमा एकताभाव या सहमति बनाउन पनि यो काम जरुरी छ भन्ने हाम्रो ठहर हो ।
० चीनका प्रधानमन्त्रीले नेपाल भ्रमण स्थगित गर्नुको कारण के होला जस्तो लाग्छ नि तपाईंलाई ?
– सरकारले कूटनीतिक मर्यादा राख्न नसकेको कुरा चौतर्फी सुनिएको छ । सायद यस्तै कुराले भूमिका निर्वाह गरेको होला । ठोस कुरा के हो भन्ने त खुल्दै जाला ।
-ऋषि धमला

पार्टीले बाबुरामको विकल्प खोजिसकेको छैन(नारायण दाहाल, नेता एनेकपा माओवादी)
० माओवादीभित्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खोजिएको हो ?
– राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने विषयमा बहसहरू चलिरहेको सन्दर्भमा विभिन्न कोणबाट आ-आफ्नै प्रकारले विभिन्न धारणाहरू आएका छन् । तर, डा. भट्टराईको विकल्प माओवादी पार्टीले खोजिसकेको भन्ने कुराचाहिँ वास्तविक होइन ।
० बाबुरामलाई हटाउन अध्यक्ष प्रचण्डले नै कसरत गरिसक्नुभयो, अब काङ्ग्रेस, एमालेले मानेमा बादल प्रधानमन्त्री बन्नुहुनेछ भन्ने कुरा आएको छ नि –
– अरू राजनीतिक दलले विभिन्न ढङ्गले कुराकानी चलाइरहेका भए पनि हाम्रो अध्यक्षले त त्यसो भन्नुभएको छैन । यस्तो छलफल नै गर्न पाइन्न भन्ने त छैन तर अध्यक्ष प्रचण्ड त्यस्तो कसरतमा हुनुहुन्न ।
० माओवादीभित्र बाबुरामको विकल्प को हुन सक्छ त ?
– निरपेक्ष रूपमा बाबुराम नै हुनुपर्छ भन्ने कुरा त हुन सक्दैन, तर विकल्प खोजिएकोचाहिँ सत्य होइन । हाम्रै पार्टीभित्रबाट वैद्य पक्षधर भनिएको केही साथीहरूबाट ‘प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ अब’ भन्ने धारणा पनि अघिसारिएका छन् भने एमालेका झलनाथहरूले ‘माओवादीबाट बादललाई प्रस्ताव गरिए हामी राष्ट्रिय सहमतिको सरकारका लागि तयार हुन्छौँ’ भन्ने प्रस्ताव पनि अघि नसारेका होइनन् । तर, ‘सरकारलाई राष्ट्रिय स्वरूप दिनका लागि केही मन्त्रालयहरू यताउता गर्न सकिएला बाबुरामजीको विकल्प नै खोजिएकोचाहिँ होइन’ भन्ने धारणा अध्यक्ष प्रचण्डको रहेको मेरो बुझाइ हो ।
० पार्टीभित्र पन्पिएको दुईलाइन सङ्घर्षलाई रोक्न र पार्टीलाई एकताबद्ध तुल्याउनका लागि बाबुरामको विकल्पमा बादललाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क पनि गरिएको छ नि वैद्य पक्षबाट ?
– यस्ता तर्कलाई गलत भनेर तिरस्कार गर्नुपर्छ भन्ने छैन, साँच्चै पार्टी एकताबद्ध भएर अघि बढ्ने अवस्था हुन्छ भने जुनसुकै विकल्प पनि छलफलमा लैजान सकिन्छ । तर, हाम्रो पार्टीमा यतिखेर चलेको विवाद कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा नभई राजनीतिक कार्यदिशाका सवालमा हो ।
० त्यसो भए बाबुराम सरकार ढल्दैन त ?
– एक न एक दिन त सरकार ढलिहाल्छ नि, ढल्दैन भनेर कसरी भन्न सकिन्छ र ? बाबुरामजी नै जिन्दगीभर नेपालका प्रधानमन्त्री भन्न त मिल्दैन नि † कुनै बिन्दुमा बाबुराम सरकार पनि ढल्ने त निश्चित नै छ नि † तर यो सरकार ढाल्नकै लागि भनेर हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन ।
० वैद्यजीले त बाबुरामको विकल्पमा बादलको नाम अघि सार्ने कुरा गरिसक्नुभएको छ नि ?
– वैद्यजीले नै बाबुरामजीलाई बनाउनका लागि नाम प्रस्ताव गर्नुभएको थियो र अध्यक्षको समेत विशेष पहलमा त्यो काम सम्पन्न पनि भयो । अब अहिले वैद्यजी बाबुरामजीको कामप्रति असन्तुष्ट हुनुहोला, त्यो बेग्लै कुरा हो । तर, पार्टीले विकल्पमा कुनै खास नाम तय गरेको छैन ।
० त्यसो भए बादल प्रधानमन्त्री बन्न सक्नुहुन्न त ?
– उहाँ प्रधानमन्त्री बन्नै नसक्ने कुरा कसरी मैले भन्न सक्छु ? राजनीतिमा कतिबेला के हुन्छ, कहाँ भन्न सकिन्छ र ? कुनै बेला उहाँ पनि देशको प्रधानमन्त्री बन्न सक्नुहुन्छ । मैले भन्न खोजेको के हो भने अहिलेको हाम्रो एजेण्डा प्रधानमन्त्री फेर्ने भन्ने नभई यही सरकारलाई कसरी राष्ट्रिय सहमतिको स्वरूप दिन सकिन्छ भन्ने हो ।