राष्ट्रिय फुटसल लिग : शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

राष्ट्रिय फुटसल लिग : शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने


शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल अन्तरको जित निकाल्दै काठमाडौँको शङ्खमुल क्लब फाइनलमा प्रवेश गरेको हो । विजेता शङ्खमुलले शुक्रबार घरेलु टोली स्पोर्टस् क्यासलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा शङ्खमुललाई उपाधि नजिक पुऱ्याउनका लागि मणि लामा नायक बने । मणि एक्लैले चार गोल गर्न सफल भएका थिए ।

शङ्खमुलले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । खेलको सुरुआतमै मणिले गोल गर्दै अग्रता दिलाए । खेलको ११औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काएपनि १५औं मिनेटमा मणिले दोस्रो गोल गरे ।

शङ्खमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो । २४औँ मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए भने विशनले २८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा लामाले ह्याट्रिक पूरा गर्दै शङ्खमुललाई हारबाट जोगाए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको समयको तेस्रो मिनेटमा लामाले व्यक्तिगत चौथो गोल गर्दै टिम उपाधि नजिक पुऱ्याउन सफल भए । लामा खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित भएका थिए ।

शङ्खमुलले बुधबार ‘एलिमेटर’मा घरेलु टोली सविन मेमोरियललाई हराएर राइजिङसँगको भेट पक्का गरेको थियो । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा गत असोज २ गतेदेखि जारी लिगको विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । लिगमा देशका सात प्रदेशका १० टिमको सहभागिता रहेको थियो । एन्फाले पहिलो पटक फुटसल लिग आयोजना गरेको हो ।