यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई



यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि एक अनिवार्य शर्त हो।’

अध्यक्ष बेरिटले भने- ‘उनीहरू सबै पत्रकारहरूका प्रतिनिधि हुन् जो यस आदर्शको पक्षमा उभिएर संसारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता बढ्दो प्रतिकूल परिस्थितिको सामना गरेका छन् ।’

सन् २०१२ मा रेस्साले खोजपत्रकारिताका निम्ति ऱ्याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको प्रमुखको रूपमा हालसम्म उनी कार्यरत छिन् ।

उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको एएफपीले जनाएको छ।

त्यसैगरी, मुराटोभले यस बीचमा रूसमा दशकौँदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् । सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ ।

उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन् । समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरू बीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् ।

यसैबीच पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन् ।

‘यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्त्वलाई ठूलो उचाइमा पुऱ्याउँछ’- नेता गोर्भाचोभको टिप्पणी छ ।