अफगानिस्तानको एक मस्जिदमा आत्मघाती आक्रमण, पचास भन्दा धेरैको मृत्यु, दर्जनौँ घाइते

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती आक्रमण, पचास भन्दा धेरैको मृत्यु, दर्जनौँ घाइते



अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको आत्मघाती आक्रमणमा परेर कम्तिमा पचास जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी भागमा रहेको शिया मस्जिदमा शुक्रबार भएको आक्रमणमा पचास जनाको ज्यान जानुका साथै दर्जनौँ सङ्ख्यामा मानिसहरू घाइते भएका अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थानपछि यो सबैभन्दा ठूलो आक्रमण हो ।

अफगानिस्तान सरकारसमर्थित बख्तियार न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार आत्मघाती हमलामा १४० जना भन्दा बढी घाइते भएका छन् । तालिबान पुलिस अधिकारीलाई उद्धृत गर्दै एपीले दाबी गरेअनुसार त मृतकको संख्या कम्तीमा एक सयको नजिक रहेको छ ।

आक्रमणको बेला घटनास्थलमा ३०० भन्दा बढी मानिसहरू मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएका थिए ।

स्थानीय समय अनुसार दिउँसो १ः४० बजे ठूलो विस्फोट भएको थियो । मस्जिदनजिकै शुक्रबारको नमाज पढ्नको लागि धेरै मानिसहरु जम्मा भएका थिए । घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा अल्पसंख्यक शिया समुदायको उक्त सय्यद आवाद मस्जिदभित्र भुइँमा रगतको आहाल देखिएको छ ।

उक्त आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन, तर स्थानीय इस्लामिक स्टेट समूहसहित सुन्नी मुस्लिम कट्टरपन्थी समूहहरूले शिया समुदायलाई लक्षित गर्दै यस्ता घटना घटाउँदै आएका एजेन्सीहरूले जनाएका छन् । बताइएअनुसार उल्लिखित समूहहरू शिया मुस्लिमहरुलाई साँचो मुसलमान मान्दैनन् ।