भारतलाई पराजित गर्न सके नेपाल फाइनलमा प्रवेश गर्ने

भारतलाई पराजित गर्न सके नेपाल फाइनलमा प्रवेश गर्ने



साफ च्याम्पियनसीपअन्तर्गत आज (असोज २४) गते नेपाल र भारतका बीच प्रतिस्पर्धा हुँदैछ । मालेको अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना हुने यो दुवै टोलीको तेस्रो खेल हो ।

आयोजक माल्दिभ्सलगायत पाँच टोलीले सहभागिता जनाएको साफ च्याम्पियनसीपमा नेपालले दुई खेलमा विजय हासिल गर्दै ६ अङ्क बटुलेर शीर्ष स्थानमा रहेको छ । नेपालले भारतसँगको आजको खेलमा विजय हासिल गरेमा फाइनलमा प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र दोश्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

साफ च्याम्पियनसीपको प्रमुख दाबेदार भारतले दुई खेल खेले पनि अहिलेसम्म विजय प्राप्त गर्न सकेको छैन । भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी र दोश्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । भारतलाई फाइनलमा प्रवेश गर्न आज नेपाललाई पराजित गर्नुपर्ने दबाब छ ।

अहिलेसम्म साफ च्याम्पियनसीपको उपाधि जित्न नसकेको नेपालले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफुलाई उपाधि दौडमा सवैभन्दा अग्रपंतिमा उभ्याएको छ । भारतसँगको आजको खेलमा नेपालले बरावरी खेलेमा पनि नेपाल फाइनलमा पुग्ने सम्भावना उत्तिकै रहनेछ ।

यदि भारत विजयी भएको खण्डमा पनि नेपालको फाइनलमा पुग्ने ढोका बन्द हुनेछैन । नेपालले आफ्नो अन्तिम तथा चौथो खेल बंगलादेशसंग खेल्ने भएकोले यदि बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल ९ अङ्क बटुल्दै सोझै फाइनलमा पुग्नेछ ।

वर्तमान अवस्थासम्म नेपालले दुई खेलमा ६ अंङ्क प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यस्तै बंगलादेशले ३ खेलमा ४ अङ्क, माल्दिभ्सले २ खेलमा ३ अङ्क, भारतले दुई खेलमा २ अङ्क र श्रीलंकाले ३ खेलमा १ अङ्क प्राप्त गरेका छन् । नेपाल, भारत र माल्दिभ्सले दुई, दुई खेल खेल्न अँझै बाँकी रहेकोले यी तीन टोलीमध्य दुई टोली फाइनलमा पुग्ने देखिन्छ । बंगलादेश पनि फाइनलको दौडमा रहेपनि उसले फाइनलमा पुग्न नेपाललाई पराजित गर्नुपर्ने हुन्छ ।