‘डाइहार्ड फ्यान’ अञ्जुको विश्वास- ‘नेपाली केटाहरूले भारतलाई हावामा उडाइदिन्छन्’

‘डाइहार्ड फ्यान’ अञ्जुको विश्वास- ‘नेपाली केटाहरूले भारतलाई हावामा उडाइदिन्छन्’



‘नेपाली केटाहरूले भारतलाई हावामा उडाइदिन्छन्’, यो कथन हो- माल्दिभ्समा कार्यरत एक नेपाली महिलाको । नेपालको प्रत्येक खेलमा निकै उल्लसित हुँदै नेपाली खेलाडीको हौसला बढाइरहेकी उनी हुन्- अञ्जु राई । नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेपछि निकै उत्साहित बनेकी अञ्जुले ‘नेपाली केटा (खेलाडी)हरूले भारतलाई पनि हावामा उडाइदिने प्रतिक्रिया दिइन् ।

आफूलाई नेपाली फुटबल टोलीको ‘डाइहार्ड फ्यान’ ठान्ने अञ्जुले साफ च्याम्पियनसिपको १३औं संस्करण नेपालले जित्ने दाबी गरिन् । नेपाली फुटबल टोलीको हौसला बढाउन आफूलगायत थुप्रै नेपाली साथीहरू रङ्गशालामा प्रत्यक्ष रूपमा उपस्थित भएको बताउने अञ्जुुको छातीमा चम्किएको ‘नेपाल’ लेखिएको भेष्टले पनि यो कुरालाई प्रमाणित गर्छ ।

‘सर…, आज चार दिनपछि बल्ल स्वर खुलेको छ, नेपाली टोलीको जितको लागि कराउँदा-कराउँदा स्वर सुकेको हो । मलाई स्वर सुकेको मतलव छैन तर नेपालले जितेकोमा निकै खुशी छु । स्वर जान्छ, आउँछ, बाल मतलव छैन तर केवल नेपालले जित्नुपर्छ । हाम्रो कामना र प्रार्थना यति मात्रै हो । सर, हामी हाम्रो देश नेपाललाई धेरै माया गर्छौं’- उनले एकै सासमा भनिन् ।

आफुलाई पोखरा घर र धरान माइती बताउने अञ्जुले भनिन्- ‘आज हाम्रो अफिस बिदा छैन, तर पनि हामी नेपालको गेम छ हामीलाई छुट्टी चाहियो भनी हाकिमलाई मनाएर नेपाली फुटबल टोलीको हौसला बढाउन रङ्गशालामा उपस्थित भएका छौँ । हामी जति दुःख गरेर यहाँ उपस्थित भएका छौँ, नेपाली खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेर हामीलाई खुशी बनाएका छन् । हामी नेपालले साफ कप उचालेको देख्न चाहन्छौँ !’

हुन त माले रङ्गशालामा उपस्थित प्रायः नेपाली खेलाडी नाचगानसहित नाराबाजी गर्दै नेपाली टोलीको हौसला बढाइरहेका हुन्छन् । तीमध्ये पनि अञ्जु राई त्यस्तो एक्लो प्रशंसक हुन् जो नेपाली खेलाडीको हौसला बढाउन रङ्गशालाको एक छेउदेखि अर्को छेउसम्म कुदेको कुद्यै गर्थिन् । उनको फुटबल खेलप्रतिको यो लगाव साँच्चै सह्राहनीय देखिन्थ्यो । उनी प्रत्येक खेलमा नेपालले जित्ने आशा होइन विश्वास गर्छिन् ।

नेपालले गोल खाँदा समेत अञ्जुमा निराशाको कुनै सङ्केत देखिँदैनथ्यो । उल्टै भन्छिन्- ‘एकछिनपछि हेर्नुहोस, नेपालले गोल हान्छ, नेपालले जित्छ ।’ उनको यो आत्मविश्वासमा नेपाली फुटबल टोली माल्दिभ्स र श्रीलंकाविरुद्धको खेलमा खरो उत्रिसकेको छ । अब पालो भारतको छ, त्यसमा पनि नेपालले जितेर फाइनलमा पुग्ने कुरामा अञ्जु विश्वस्त छिन् ।

‘जित्छ, जित्छ, नेपालले जित्छ, नेपालले सबैलाई हराउँछ, साफ च्याम्पियन कप उठाउँछ । नेपाल, नेपाल, नेपाल…’ अञ्जुको एकहोरो रटको अगाडि अन्य टोली साफ च्याम्पियनसिपमा कति टिक्छन् त्यो यतिबेला प्रतीक्षाको विषय बनेको छ ।