प्रहरीको गोलीबाट चार सर्वसाधारणको मृत्युपछि रुपन्देहीको मोतिपुरमा कर्फ्यू

प्रहरीको गोलीबाट चार सर्वसाधारणको मृत्युपछि रुपन्देहीको मोतिपुरमा कर्फ्यू


  • बुटवल प्रतिनिधि

प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आइतबार चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि असामान्य परिस्थिति उत्पन्न भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए । प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार औद्योगिक करिडोरको क्षेत्रमा अस्थायीरूपमा बनाइएका टहरा प्रहरीले भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो । जिल्ला प्रशासनले पूर्वतर्फ बुटवल-१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।

औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

आइतबारको घटनामा मृत्यु भएकामध्ये तीन जनाको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)का जनसम्पर्क अधिकृत सुशील गुरुङले जनाएका छन् । उनका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरू भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।