साफ च्याम्पियनसिपमा लगातार दुई खेल जितेर अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपाल तेस्रो खेलमा चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । निकै सनसनीपूर्ण खेलमा भारतले नेपाललाई एक सुन्यले पराजित गरेको हो । भारतविरुद्धको खेलमा नेपाल पराजित भए पनि फाइनल खेल्ने सम्भावना भने जीवितै रहेको छ ।
नेपालविरुद्धको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरेका थिए । यो जीतसँगै भारतले महत्वपूर्ण ३ अङ्क बटुल्दै फाइनल पुग्ने आशा जीवितै राखेको छ । योभन्दाअघिका दुई खेलमा भारतले बराबरी खेलेको थियो । अब भारतले आफ्नो अन्तिम खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल भारतसँग पराजित भए पनि नेपालको फाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गऱ्यो वा बराबरीमा मात्र पनि रोक्न सक्यो भने फाइनलमा पुग्नेछ ।
साफ च्याम्पियनसिपमा श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्य चार टोलीमध्ये नेपाल, भारत, माल्दिभ्स र बंगलादेशको फाइनलमा पुग्ने सम्भावन उत्तिकै छ ।

अङ्कतालिकामा अहिले नेपाल र माल्दिभ्सको समान ६ अङ्क छ । दुवै टोली दुई खेलमा जीत र एउटामा पराजित भएका छन् । अपराजित रहेको भारतको तीन खेलमा ५ अङ्क छ । त्यस्तै एउटा खेलमा जीत, एउटामा बराबरी र एउटामा पराजित बंगलादेशको ४ अङ्क छ ।
फाइनलमा प्रवेश गर्न भारत र बंगलादेशलाई अन्तिम खेल जित्नुपर्ने बाध्यता छ । बराबरी खेलेमा पनि दुवै टीम फाइनलमा पुग्ने छैनन् । बराबरी खेल्दा भारतको ६ र बंगलादेशको ५ अङ्क मात्र हुनेछ । तर नेपाल र माल्दिभ्सले बराबरी खेल्न सके भने पनि फाइनलमा पुग्न सफल हुनेछन् । उनीहरूको लागि १ अङ्क फाइनलमा पुग्नको लागि पर्याप्त हुनेछ ।
यतिबेला साफ च्याम्पियनसिपको समिकरण निकै रोचक बनेको छ । चारवटै टीम फाइनलमा पुग्ने सम्भावन उत्तिकै छ । तर उनीहरूले आफ्नो अन्तिम खेलमा कस्तो प्रदर्शन गर्छन् त्यो महत्वपूर्ण बनेको छ ।
नेपाल र माल्दिभ्स भारत र बंगलादेशभन्दा सहजस्थितिमा भए पनि नेपाल र माल्दिभ्स नै फाइनलमा पुग्छन् भनेर ठोकुवा गर्ने अवस्था छैन । खेल हो अन्तिम परिणाम नआउञ्जेलसम्म जे पनि हुन सक्छ । भारत र बंगलादेश पनि फाइनलमा पुग्ने सम्भावना उत्तिकै छ ।
प्रतिक्रिया