प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले ‘प्रदेश खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रूपमा विगत दुई वर्षदेखि ‘प्रदेश खेलकुद’को आयोजनाको तयारी गरिएको थियो । प्रतियोगिता आगामी पुषदेखि माघ महिनासम्म सञ्चालन हुनेछ ।
गत असोज १५ गते प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेको निर्णय हालै सार्वजनिक गरिएको हो । प्रदेश खेलकुद विकास परिषद्को विनियोजित २ करोड र थप ४ करोड ५४ लाख प्रदेश सरकारसँग माग गरी जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ ।
स्थानीय, जिल्ला र प्रदेशगरी तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकताप्राप्त खेलहरू फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।
उक्त प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरी जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनुपर्ने छ । त्यस्तै, प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् । जिल्ला टिममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ । त्यस्तै समुह खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडीमध्येबाट जिल्ला टिम तयार गरी प्रदेशमा सहभागी गराइनेछ ।
आगामी फागुनदेखि हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागी पनि नवौँ राष्ट्रिय खेलकुदभन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।
प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रिकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागिता जनाउने छ । करिव एक महिनासम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी आयोजना गरिने परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले जानकारी गराएका छन् ।
पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने प्रदेश खेलकुद विकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरको दोश्रो हप्ता सम्ममा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी कार्तिक १३ गते बिश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ ।
परिषद्ले यसै वर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लागत साझेदारी गर्न एक करोडको सम्झौता गरिसकेको छ ।
परिषद् बैठकले यो वर्षमा हुने अन्य कार्यक्रमहरूमा, राष्ट्रिय तथा अंतर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने, अपाङ्गता भएका खेलाडीहरूको लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने, जिल्ला खेलकुद बिकास समितिहरुलाई ६ लाखका दरले कार्यालय संचालन खर्च र खेल सामग्रीहरू खरिद गर्नका लागि भुक्तानी दिने जस्ता केही महत्वपूर्ण निर्णय गरेको कुरा सदस्यसचिव भण्डारीले बताए ।
प्रतिक्रिया