खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित



कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले जानकारी दिएका छन् ।

राष्ट्रपति बोल्सोनारोले प्रेससँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएको व्यक्तिमा भन्दा बढी एन्टिबडी भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘किन खोप कार्ड चाहियो ? किन पासपोर्ट चाहियो ? म केवल खेल हेर्न चाहान्छु ।’

एएनआईले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् ।

ब्राजिलका नेताले कोरोना भाइरसविरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन । उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए ।

राष्ट्रपति बोल्सोनारो लकडाउनको एक कट्टर विरोधी हुन् भने उनी मास्क पनि लगाउँदैनन् ।