यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो

यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो



नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरमा रहेको कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् ।

अघिल्ला दुई वर्ष कोरोना महामारीले सुनसान जस्तै बनेको प्रसिद्ध कालभैरव मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल बढेको यस मन्दिरको व्यवस्थापन गुठीले जनाएको छ । बागलुङ नगरपालिका-१२ का वडाध्यक्ष गुरुदत्त पाठकले दुई वर्षपछि मन्दिर खुलेकाले यस वर्ष यहाँका स्थानीय तथा अन्य दर्शनार्थी खुसी भएको बताउनुभयो ।

यहाँ विशेषगरी नवरात्रको सुरुआतदेखि मन्दिरमा दर्शनार्थी पुग्ने गर्छन् । यहाँ नवमीको दिन मात्रै पाँच हजार धेरै दर्शनार्थीले पूजाआजा गरेका छन् । बलि र साधारण दुवै पूजाका लागि यहाँ दर्शनार्थी पुगेका हुन् । बलेवा कोटको पूजा र कालभैरवको दर्शनका लागि पुग्नेहरुको सङ्ख्या उल्लेख्य रहेको स्थानीयवासी राम पाठकले बताउनुभयो ।

तत्कालीन बलेवा कोट अन्तर्गतका हालका ६ वटा वडाका अधिकांश सर्वसाधारण नवमीकै दिन बलेवा कालभैरवको मन्दिर दर्शनका लागि पुग्ने गरेका हुन् । “हाम्रो पूजाआजा र भेटघाट गर्ने थलो हो भैरवस्थान, पुराना साथीभाइ र इष्टमित्र भेटघाट यहीँ हुन्छ वर्षमा एक पटक,” बलेवाका इन्जिनियर विनोद शर्माले भन्नुभयो । यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने चामलको पीठोको रोट तथा नरिवल भैरवलाई प्रसादस्वरुप चढाउने प्रचलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र कालभैरव मन्दिर पुग्ने सडक निर्माण भएपछि पहिलेको भन्दा धेरै दर्शनार्थी यहाँ पुग्ने गरेको स्थानीयवासीको अनुभव छ । मन्दिर परिसरको व्यवस्थापन, बलि र रोटको राम्रो व्यवस्थापन गरिएकाले पनि दर्शनार्थीले सहजै यहाँ पूजाआजा गर्न सक्छन् । ध्वजाले पुरिएको कालभैरवको मूर्ति देख्न पाइँदैन । गुप्त रहेको मूर्तिमा पूजाआजा गर्दा भाकल गरेको सबै प्राप्ति हुने जनविश्वास छ ।

यस्तै बागलुङ कालिका भगवती मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भीड नियन्त्रणका लागि गुठी व्यवस्थापन समितिले स्वयंसेवक परिचालन गरेको छ । बलेवा कोटअन्तर्गतका वडाहरुमा नयाँ धानको चामल खाने र नयाँ धान काट्न सुरु गर्ने शुभ दिनसमेत तोकिएको छ । हरेक वर्ष नवमीका दिन बलेवा क्षेत्रका ज्योतिष तथा पण्डितहरुको भेला बलेवा कोटमा बसेर नयाँ चामल खाने (न्वागी) तथा धान काट्ने उत्तम साइत (पुली लिने) दिन तोक्ने प्रचलन छ ।

रासस