माओवादी पथमा काङ्ग्रेस चल्नुको परिणाम

माओवादी पथमा काङ्ग्रेस चल्नुको परिणाम


बाँदरले मानिसको नक्कल गर्न थाल्यो भने त्यो सुखद सन्दर्भ हुनसक्छ, तर मान्छेले बाँदरको नक्कल गर्न थाल्यो भने के होला ? नेपाली काङ्ग्रेस पार्टीले पछिल्लोपटक दर्शाएको व्यवहारले यस्तै प्रश्न उठाएको छ । हो, मानिसकै सन्तान भए पनि कसैलाई वन-जङ्गलमा लगेर छोडियो भने उसले बाँच्नका निम्ति त्यहीँको कला-सीप प्रयोग गर्ला र वन्यजन्तुका कैयन व्यवहार उसमा अनुकरण भएको पनि भेटिएला । तर, मानिस जनावरजस्तो बन्नु आफैंमा अनौठो घटना-सन्दर्भ भए पनि त्यो कदापि सुखद समाचार हुन सक्दैन, बरु कुनै वन्यजन्तुले मानिसको अनुकरण गर्न थाल्यो भने त्यसलाई अनौठो र रोमाञ्चक मात्र मानिँदैन, अत्यन्त सुखद पनि ठानिन्छ । काङ्ग्रेसले पछिल्लोपटक दर्शाएको व्यवहारलाई मानिसको जनावरीकरण नभन्ने हो भन्ने काङ्ग्रेसको माओवादीकरणचाहिँ भन्ने कि नभन्ने ?
नेपाली काङ्ग्रेसबारे पार्टीभित्र र बाहिरका मानिसले नकारात्मक अर्थमा टिप्पणी गर्दै भनेको सुनिन्छ- ‘काङ्ग्रेस र हिन्दू धर्मावलम्बी हुन धेरै सजिलो हुन्छ ।’ कुनै निश्चित विचार, दर्शन, सोच, नियम, अनुशासन, मूल्य र मान्यताविपरीत यी चलिरहेका हुन्छन् भन्ने अर्थमा त्यसरी टिप्पणी गर्नेहरूले सनातनी हिन्दू धर्म र काङ्ग्रेसको दार्शनिक धरातललाई कतिसम्म बुझन सकेका होलान्- जिज्ञाशा या समीक्षाको एउटा पाटो होला । सर्वसाधारणको दृष्टिमा हिन्दू र काङ्ग्रेस हुन सजिलो हुन्छ भन्ने बुझाइ रहेको यथार्थलाई भने त्यसप्रकारको टिप्पणीले स्पष्ट सङ्केत गरेको छ । पूर्वीय दर्शन र धर्मका अध्येताहरूलाई थाहा हुनुपर्छ- सनातनी हिन्दू धर्मको दार्शनिक गहिराइ मारियाना ट्रेञ्चभन्दा कति बढी गहिरो छ भन्ने । पूर्वीय दर्शनलाई बुझने या बुझेका मानिस त्यसको ज्ञान तत्त्वबाट कहिल्यै टाढिन सक्दैनन् । तर्क र विज्ञानको बाहुबलमा आधारित सनातनी हिन्दू धर्म कसैले होच्याएर कद घट्ने प्रकारको छ भन्ने मानिँदैन । विश्वमा प्रचलित विभिन्न धर्महरूमध्ये सनातनी हिन्दू एक मात्र यस्तो धर्म हो जुन वैज्ञानिकतामा आधारित छ र मानवीय स्वतन्त्रताको चरम पक्षपाती छ । निराकार इश्वरमा विश्वास राखी कहिल्यै मन्दिर या देवस्थल नगएर पनि मानिस हिन्दू हुन सक्छन् र आकार इश्वरलाई मान्नेहरू पनि हिन्दू हुन्छन् । आकार पनि एउटै होइन, हिन्दूहरू तेत्तीसकोटी देवताका पूजक हुन् । धनदेवी, जलदेवी, वनदेवी, कालीदेवी, सेतीदेवी, महादेव, विष्णु, कृष्ण, राम, हनुमान, इन्द्र, दर्ुगा, जगदम्बा, सरस्वती आदि जो-जसलाई मान्न या नमान्न हिन्दू धर्मावलम्बीहरू स्वतन्त्र छन् । कसैले कुनै पनि स्वरूपलाई नमानेका या मानेका कारण उसलाई बहिष्कृत गरिँदैन । यसप्रकारको वैचारिक एवम् स्वेच्छिक स्वतन्त्रता कुनै पनि अन्य धर्ममा हुँदैन । मुस्लिमले मोहम्मदलाई र इर्साईहरूले जिसस क्राइस्टलाई नमानीकन उनीहरू मुलमान या इर्साई हुन सक्दैनन् । त्यसैले धार्मिक सङ्कीर्णता पनि उनीहरूमा नै ज्यादा देखिन्छ । सनातनी हिन्दूहरू धर्मका मामिलामा अत्यन्त उदार हुनुको कारणचाहिँ उक्त धर्म-सम्प्रदायभित्रको वैचारिक एवम् आस्था र विश्वासको स्वतन्त्रता नै भन्न सकिन्छ । जसले जस्तो प्रकारले जुनसुकै देवी, देवता या विचार ग्रहण गरे पनि कुनै व्यक्ति हिन्दू भइरहन सक्नुको मतलब यो होइन कि हिन्दू धर्मको पृष्ठभूमिमा कर्मकाण्डीय शास्त्र मात्र छ । विविध तर विकट दार्शनिक धरातलीय जगत्मा हिन्दुत्व फक्रेको हो भन्ने बुझन कम्तीमा पनि मीमांसा, वैशेषिक, वेदान्त, सांख्य, न्याय, चार्वाक, गीता आदि दर्शन र वेदको अध्ययन गर्न आवश्यक हुन्छ । पुराण र स्वस्थानीका कथालाई मात्र शास्त्र ठान्नेहरूले वास्तवमा सनातनी हिन्दू धर्मर्-दर्शनबारे पर्याप्त जानकारी राख्न बाँकी नै छ भन्न सकिन्छ ।
नेपाली काङ्ग्रेस पार्टी र उसका मान्यता पनि ठीक त्यस्तै छन्, जस्तो सनातनी हिन्दू धर्मावलम्बीहरूको हकमा भन्ने गरिन्छ । नेपाली काङ्ग्रेस एउटा पार्टी हो, तर त्यहाँ वैचारिक स्वतन्त्रताको चरम उपभोग गर्न पाइन्छ र पार्टी-सङ्गठनका नाममा कम्युनिस्ट या अरू कसैको जस्तो मिलिटेन्सी पनि हुँदैन र फलामे अनुशासनको जन्जिरमा बाँधिएर विवेकहीन ढङ्गले राजनीतिक यात्रामा भड्किरहनु पनि पर्दैन । इश्वर र धर्म मान्नेहरू पनि काङ्ग्रेस हुन सक्छन्, नास्तिकहरू पनि । चरम उदार अर्थनीतिका हिमायती पनि काङ्ग्रेस बन्न सक्छन् र माक्र्सवादमा आधारित समाजवादी अर्थनीतिका पक्षपातीहरू पनि काङ्ग्रेसमै रहन सक्छन् । वेस्टमिनिस्टर प्रणालीको संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रका पक्षमा उभिनेहरू पनि काङ्ग्रेसका सदस्य हुन सक्छन् र गणतन्त्रात्मक पद्धतिमा विश्वास राख्दै लोकतान्त्रिक प्रणालीमा क्रियाशीलहरू पनि काङ्ग्रेस बन्न सक्छन् । सुकुम्बासी, गरिब, धनी, महाधनी, पुँजीवादी, परम्परावादी, आधुनिक एवम् उत्तरआधुनिक विचारवादी, महिलावादी, सामन्त, समाजवादी, हिमाली, पहाडी, मधेसी जोसुकै एउटै घरमा अटाउने नेपालको एउटै पार्टीको नाम काङ्ग्रेस भनियो भने सायद त्यो गलत हुनेछैन । सङ्गठन र विचारमा अपनाइने यस्तै उदारतापूर्ण व्यवहारका कारण कतिपय मानिस काङ्ग्रेस बन्न धेरै सजिलो छ भन्ने ठान्छन् । तर, के वास्तवमा काङ्ग्रेस बन्न त्यति धेरै सजिलो छ त, जति मानिसले ठानेका छन् ?
स्वस्थानी पढेर-सुनेर हिन्दू धर्म बुझेको ठान्नु र काङ्ग्रेस बन्न सजिलो छ भन्नु समग्रमा उस्तै हो भन्ने देखिन्छ । काङ्ग्रेस हुन सबभन्दा पहिले विचार र व्यवहारले पूर्ण प्रजातन्त्रवादी बनेको हुनुपर्छ, जुन अति नै कठिन कार्य हो । प्रजातन्त्रवादी बन्नु भनेकै अर्काको विचारको सम्मान गर्नु हो, कुनै पनि कोणबाट अरूलाई अप्रसन्न नतुल्याउनु हो र आफूलाई होइन अरूलाई केन्द्रमा राखेर सोचविचार व्यवहार गर्नु हो, जुन कार्य अत्यन्त कठिन हुन्छ । शान्ति, मानवअधिकार, प्रेस स्वतन्त्रता, राजनीतिक एवम् आर्थिक स्वतन्त्रताको पक्षमा उभिँदा त्यसले उभिनेको मात्र हितरक्षा गर्दैन, अरूहरूकै चिन्ता गरिरहेको हुन्छ । स्वतन्त्र निर्वाचन प्रणालीद्वारा नेतृत्व छान्ने प्रक्रियालाई अवलम्बन गरिँदा एउटा प्रजातन्त्रवादीले अर्काको जितलाई पनि सहर्ष स्वीकार गर्ने क्षमता राख्नुपर्ने हुन्छ, जुन सामान्य मानिसका निम्ति कठिन तर एक प्रजातन्त्रवादीका निम्ति अनिवार्य मानिन्छ । कम्युनिस्ट र अरू कतिपय राजनीतिकर्मीहरू पृथक् विचारप्रति असहिष्णु हुन्छन् र फरक विचारलाई निषेध गर्न चाहन्छन् । स्वतन्त्र चुनावी अभ्यासबाट सत्ता प्राप्त गर्नुलाई उनीहरू नाजायज र अनुपयुक्त ठान्छन्, जसरी भए पनि जित्नु र सत्ता प्राप्त गर्नु उनीहरूको एकमात्र अभीष्ट हुन्छ । अर्काको विजय र आफ्नो पराजय सहजै स्वीकार गर्न सक्ने ताकत केवल प्रजातन्त्रवादीमा हुन्छ, त्यही ताकतको अभावका कारणले पनि कति मानिस कम्युनिस्ट बनेका हुन् । आफू मात्र विजयी बन्ने चाहनाले मानिसलाई कम्युनिस्ट या त्यस्तै अरू के-के बनाउँछ भने सबैलाई विजयी गराउने सोचले मानिसलाई प्रजातन्त्रवादी बनाउँछ । निष्पक्षता प्रजातन्त्रवादीको अर्को विशेषता हो । पक्ष लिन जति सजिलो हुन्छ निष्पक्ष रहन त्योभन्दा धेरै कठिन हुन्छ । वास्तवमा एक शुद्ध प्रजातन्त्रवादीको विरोध एवम् समर्थन पनि प्रजातान्त्रिक मान्यताका लागि हुन्छ र त्यसको अभिव्यक्ति पनि प्रजातान्त्रिक प्रक्रियाद्वारा नै प्रकट हुन्छ । ०४६ साल चैत २६ गते नेपालमा प्रजातन्त्र बहाल गरिएपछिको प्रथम आमसभामा गिरिजाप्रसाद कोइरालाले ‘प्रजातन्त्रमा कसैको पराजय हुँदैन, सबैको जित हुन्छ र त्यर्सथ यो जित राजाको पनि हो’ भन्नुहुँदा उहाँका विरुद्ध व्यापक नाराबाजी भयो । त्यसरी कोइरालाविरुद्ध नाराबाजी गर्नेहरू या त कम्युनिस्ट थिए या प्रजातन्त्रबारे ज्ञान हासिल गर्न बाँकी मानिसहरू । गिरिजाप्रसादले आफ्नो जीवनकालमा दिएका सार्वजनिक अभिव्यक्तिमध्ये सायद त्यही नै सबभन्दा मार्मिक, महान् र निष्पक्ष थियो, त्यही अभिव्यक्तिको सर्वाधिक विरोध भयो । निष्पक्ष सोच र निष्पक्ष अभ्यासबिना प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियाको रक्षा हुन सक्दैन । बीपी कोइराला अपेक्षाकृत निष्पक्ष अभ्यास गर्न रुचाउनुहुन्थ्यो । राजाबाट हदैसम्म खेदिएका-सताइएका बेलामा पनि ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भनी दिनुभएको अभिव्यक्तिले बीपीको निष्ठा र निरपेक्षता मात्र होइन उहाँको निष्पक्षता पनि दर्शाउँछ । महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले आफ्नो जीवनकालमा निरन्तर निष्पक्ष अभ्यासमा नै जोड दिइरहनुभयो । तर, कम्युनिस्ट र सबै किसिमका तानाशाहरूको विश्वास पक्षधरतामा छ । निष्पक्ष अभ्यासमा कम्युनिस्टहरू सायद आफ्नो भविष्य सुरक्षित देख्दैनन् । साध्य प्राप्त गर्न जस्तासुकै साधनको पनि प्रयोग गर्न नहिचकिचाउनु कम्युनिस्टहरूको अर्को विशेषता हो । बोली र व्यवहारमा सदैव अन्तर रहनु र परिस्थितिअनुसार बोली बदलिरहनु पनि कम्युनिस्टहरूको अर्को एउटा विशेषता हो । क्रान्तिका नाममा भ्रान्तिपूर्ण सपना देखाउने र सपनाको समृद्धि प्राप्त गर्न विपनामा विध्वंस मच्चाउनु पनि कम्युनिस्टहरूको धर्म हो । तर पछिल्लो कालखण्डमा नेपालको एक मात्र पुरानो क्रियाशील प्रजातन्त्रवादी राजनीतिक दल काङ्ग्रेस पनि माओवादी कम्युनिस्टकै रूपमा अनुवाद हुँदै जानुले मुलुकमा प्रजातन्त्रवादी विचार दर्शनको खडेरी परेको सङ्केत गर्दै छ । माओवादीको प्रभावमा परेर आफ्नो मौलिक विचार-चिन्तन परित्याग गरेर काङ्ग्रेसले खुद्रा साध्य प्राप्तिका लागि अपनाएको कार्यशैली पनि ठ्याक्कै माओवादी कम्युनिस्टकै जस्तो हुन थाल्नुलाई शुभ-सङ्केत मान्न सकिँदैन । चितवनमा भएको अत्यन्त कायरतापूर्ण एवम् दु:खद् र अक्षम्य घटनाका सन्दर्भमा काङ्ग्रेस जसरी सडकमा प्रकट भयो, त्यसले नेपालमा दलहरूबीचको भिन्नता मेटिँदै गएको आभाष दिलायो । सवारीसाधन तोडफोड, आगजनी, अभद्र व्यवहार, असान्दर्भिक मानिसलाई कष्ट र अप्रत्यासित रूपमा बन्द गर्नेजस्ता कार्यले काङ्ग्रेसको साङ्गठनिक हैसियत जीवित रहेको तथ्य त दर्शायो होला, तर यसले पार्टीको छविमाथि भने क्षति पुर्‍याएको छ । काङ्ग्रेसलाई एक जिम्मेवार, शान्तिकामी र मानवअधिकारवादी प्रजातान्त्रिक पार्टीका रूपमा हर्ेर्नेहरूको दृष्टिमा काङ्ग्रेसको पछिल्लो व्यवहार अस्वाभाविक र अनपेक्षित हुन पुगेको छ । विभिन्न सान्दर्भिक/असान्दर्भिक माग राखेर माओवादी तथा त्यस्तै अरूहरूले सडकमा जे-जस्ता लाखेनाच देखाउँथे ठीक त्यही रूपमा प्रस्तुत भएर काङ्ग्रेसले विध्वंसकारीहरूको अराजक व्यवहारलाई अनुमोदन गरेको छैन भनेर कसरी भन्ने ? सरकारलाई झुकाउन या तह लगाउन अन्य कैयन विकल्प हुँदाहुँदै काङ्ग्रेसले अपनाएको कार्यशैलीले प्रजातन्त्रवादी एवम् प्रजातन्त्रप्रेमी समुदायलाई लज्जित तुल्याएको छ । माओवादीका कतिपय विचार पक्ष मात्र होइन व्यहोराको समेत हुबहु अनुकरण गर्न खोज्दा काङ्ग्रेसको मौलिकता मेटिने खतरा बढेको छ । काङ्ग्रेसको पछिल्लो व्यवहारले ठीक त्यही पात्रको स्मरण गराएको छ, जो बाँदरबाट पूरा प्रभावित छ र उसैको नक्कल गर्दै छ । यस प्रकरणले माओवादीलाई शान्तिप्रक्रिया र प्रजातन्त्रको पक्षमा ल्याएको भनी काङ्ग्रेसले गर्दै आएको दाबीमा पनि प्रश्न उठ्ने स्थिति बनेको छ । काङ्ग्रेसले माओवादीलाई होइन माओवादीले काङ्ग्रेसलाई चाहिँ आफ्नो पथमा निरन्तर लैजाँदै गरेको पुष्टि पछिल्लो घटनाक्रमले गराएको छ । गैरजिम्मेवार, अराजक, विध्वंसक र असभ्य व्यवहार काङ्ग्रेस पार्टीका निम्ति त्यति नै अशोभनीय मानिएको छ, जति साधु सन्तहरूले रात्रि क्लबको डिस्कोमा उत्साहजनक सहभागिता जनाउँदा देखिन्छ । प्रजातन्त्रवादको धरातलमा खडा भएर गरिने शान्तिपूर्ण एवम् जिम्मेवार भूमिकाले मत्र काङ्ग्रेसको प्रतिष्ठा अभिवृद्धि गर्ने हो र काङ्ग्रेसको शक्ति पनि यस्तै व्यवहारमा निहित छ । लोकतन्त्र स्थापना भइसकेको सन्दर्भमा माओवादी कम्युनिस्टकै जस्तो शैली पछ्याएर देशमा प्रजातान्त्रिक मूल्य र मान्यताको जगेर्ना हुन सक्दैन । काङ्ग्रेससमेत प्रजातन्त्रवादी चिन्तन/व्यवहारबाट स्खलित हुन थाल्यो भने अन्तत: मुलुक अराजकतावादकै चपेटामा पर्ने निश्चित छ, काङ्ग्रेस र नेतृत्वलाई समयमै चेतना होस् ।