डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माणको अन्तिम चरणमा

डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माणको अन्तिम चरणमा



सर्ने दर धेरै भएका रोगको पहिचानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य हुने

  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा अस्पतालमा स्थापना भइरहेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरस जस्तै सङ्क्रमण दर उच्च रहेका महामारीलगायत दर्जनौँ रोगको उपचारको परीक्षण गर्ने उद्देश्यले डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला स्थापना भइरहेको हो ।

नेपाल सरकारका साथै विभिन्न दातृ निकायको करिव अढाई करोड रुपैयाँ भन्दा बढीकोे लागतमा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माणसँगै सुदूरपश्चिमको अग्रणी र सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाएको छ ।

सङ्क्रमणको आधारमा प्रयोगशाला चार तहका हुने गरेका छन्, जसमा डडेल्धुरा अस्पतालमा निर्माण भइरहेको २ प्लस तहको प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना भाइरस जस्तै सर्ने दर धेरै भएका महामारी रोगको पहिचानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य हुने प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

यो प्रयोगशालामा परीक्षण गर्दा रोगबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षाका सम्पुर्ण विधि अपनाइ निर्माण गरिएको इन्चार्ज भुषालको दाबी छ । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसको परीक्षण भइरेहको भए पनि अब अत्याधुनिक प्रयोगशालाबाट रोगको लक्षण पहिचान गर्न सकिने भएको छ ।

अत्याधुनिक प्रयोगशालामा मेसिन जडान गर्ने काम तीव्र रूपमा भइरहेको र कोरोना भाइरसको परीक्षणका लागि आवश्यक परे सञ्चालन गर्न सकिने प्रयोगशाला प्रमुख भुषालले जानकारी दिए । अत्याधुनिक प्रयोगशाला स्थापना भइ कोरोना भाइरस जस्ता सर्ने उच्च दर भएका रोगको पहिचान गर्नका लागि सहज भए पनि दिगो रूपमा सञ्चालन गर्नका लागि भने सहयोगको अपेक्षासमेत अस्पतालले गरेको उनले बताए ।

डडेल्धुरा अस्पतालमा स्थापना भएको प्रयोगशाला सुदूरपश्चिममै पहिलो रहेकाले सुदूरपश्चिमका नौ वटै जिल्लाका बिरामीले ल्याबसम्बन्धी सबै सुविधा र सेवा पाउने भएका छन् ।