जनकपुर जलमग्न भएपछि जनमत पार्टीका कार्यकर्ताको यस्तो ताण्डव !

जनकपुर जलमग्न भएपछि जनमत पार्टीका कार्यकर्ताको यस्तो ताण्डव !



खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहार

आफ्नो दायित्वको काममा लापर्वाही गरी भ्रष्टाचार गरेको अभियोग लगाएर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकपुरमा अर्द्धनग्न बनाएर बजार घुमाएका छन् । ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर जमिनको हिलो दली उनीहरूले बजार घुमाएका हुन् ।

कुशवाहालगायत कर्मचारीले जिम्मेवारी निर्वाह नगरेको, ढल निर्माणमा अनियमितता गरेको कारण वर्षातको बेला नगर जलमग्न भएको आरोप सीके राउतका कार्यकर्ताले लगाएका छन् । उनीहरुले कुशवाहालाई अपमानजनक ढंगले जनकपुरधामको रामानन्द चोकदेखि नगर परिक्रमा गराएका छन् । दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको थियो । यसैको विरोधमा खानेपानीका कर्मचारीमाथि कारवाही गरिएको जनमत पार्टीका कार्यकर्ताहरुको जिकिर छ ।

खानेपानी संस्थान जनकपुरधामका नि. कार्यालय प्रमुख कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले गुण्डागिरी शैलीमा कुटपिट गर्दै नगर परिक्रमा गराएका र जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेपछि सो कार्यको विरोध गरिएको छ । तर, प्रदर्शनकारीले मेयर साहलाई समेत कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीहरुले लाठी प्रयोग गरेर कुशवाहालाई जबर्जस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गरेका प्रत्येक्षदर्शीले जनाएका छन् । कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।