प्रधानमन्त्री सुदूरपश्चिम क्षेत्रमा : बाढी-पहिरोपीडितका लागि तत्काल राहतको व्यवस्था गरिने प्रम देउवाको प्रतिबद्धता

प्रधानमन्त्री सुदूरपश्चिम क्षेत्रमा : बाढी-पहिरोपीडितका लागि तत्काल राहतको व्यवस्था गरिने प्रम देउवाको प्रतिबद्धता


  • डम्बर निदाल, डडेल्धुरा

बाढीपहिरोले गरेको क्षतिको अवलोकन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल बाढी र पहिरो पीडितका लागि राहतको व्यवस्था गर्ने बताएका छन् ।

बिहीबार डोटी, बैतडी र बझाङसहित गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति देउवाले सबै क्षेत्रमा क्षति पुगेको जनाउँदै पीडितहरूलाई तत्काल खाद्यान्न र लुगाकपडाको व्यवस्था गर्ने बताए ।

गत आइतबारदेखि लगातार भएको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति पुगेको छ भने सडक बाटोघाटोका साथै पाक्नै लागेको धानबाली र पशुचौपायाका साथै अन्य अन्नबाली समेत नष्ट गरेको छ ।

अविरले वर्षाले पारेको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र पत्रकारहरूले जिल्लाका समस्याबारेमा कुरा राखेका थिए ।

वर्षाका कारण जिल्लामा दुई जनाको पहिरोमा परि ज्यान गएको छ, भीमदत्त राजमार्ग र डा. केआई सिंह राजमार्ग पहिरोले अवरुद्ध छन् । जिल्लाभरीका ग्रामिण सडकहरू प्रायः अवरुद्ध छन् । सयौँ घरपरिवार विस्तापित बनेका छन् । जिल्लाको भित्री मधेश परशुराम धाम क्षेत्रमा ठूलो क्षति पुगेको छ भने दर्जन बढी मानिस घाइते भएको जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए । बिहीबार मात्रै विद्युत् सुचारु भएकाले क्षतिको एकिन विवरण आउन नसकेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

प्रधानमन्त्री भएपश्चात पहिलो पटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।

सुदुरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगी बिहीबार नै कञ्चनपुरका लागि निस्किए । बाढीपहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि गृहजिल्ला डडेल्धुरा आइपुगेका हुन् ।

सदरमुकामनजिकै रहेको अमगरगढी नगरपालिका-१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरेर कञ्चनपुर हिँडेका हुन् । जोगबुढाबाट कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जाने र धनगढीबाट उनी शुक्रबार मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

ज्ञातव्य छ, गत आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै, बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।