भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।
आयोजित समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोडमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्गको एउटा खण्ड हो । भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर-कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ ।
एकपटक सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुने सम्बद्ध पक्षको भनाइ छ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गन विश्वास लिइएको छ ।
ज्ञातव्य छ, सीमापार रेल सञ्जाल भारत-नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायताअन्तर्गत निर्माण भएका हुन् ।
प्रतिक्रिया