गुडिरहेको बसमा आगलागी, ३६ यात्रु सुरक्षित

गुडिरहेको बसमा आगलागी, ३६ यात्रु सुरक्षित


  • विकाश रौनियार, धादिङ

धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं तर्फ आऊदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा आइतबार बिहान (गएराति) २ बजेको समयमा पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-१ गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

आकस्मिक रुपले जलेको बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ ।

बसमा आगो लाग्नुको कारण यकिन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

इन्जिनबाट धुवाँ निस्किनेबित्तिकै चालकले बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । आगो नियन्त्रणपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।