लताको चाहना सचिनसँग गाउने

लताको चाहना सचिनसँग गाउने


स्वरसाम्राज्ञी लता मंगेश्करसँग गाउन नचहाने कुन गायक होला – लतासँग एकपटक गाउन पाए आफ्नो जीवन नै सफल मान्ने गायकहरूको भीड अहिले पनि भारतमा कम छैन । चर्चित गायकदेखि उदीयमान गायकहरूको सपना नै एक दिन स्वरसाम्राज्ञीसँग गाउने रहेको हुन्छ । अहिलेसम्म थुप्रै भारतीय वरिष्ठ र कनिष्ट कलाकारहरूसँग गीत गाइसकेकी लताको स्वरको जादु अहिले पनि त्यत्तिकै रहेको छ । उनै महान् कलाकार तथा साक्षात् सरस्वतीको संज्ञा पाएकी लताले आफ्नो जीवनको उत्तर्रार्द्धमा कसैसँग गाउने इच्छा प्रकट गरिन् भने सायद त्यसलाई कसैले पत्याउला । तर, वास्तविकता यही हो, लताले लिटिलमास्टर सचिन तेन्दुलकरसँग गाउने इच्छा प्रकट गरेकी हुन् । लताले सचिनको सङ्गीतप्रति रुचि देखेर यस्तो इच्छा राखेकी हुन् । लताले सचिनसँग गाउन पाउँदा आफूलाई ज्यादै खुसी लाग्ने बताउँदै कसैले पहल गरेको खण्डमा आफू तयार भएको खुलासा गरेकी छिन् ।
लताले सर्वप्रथम सचिन गीत गाउनमा राजी हुनुपर्यो, त्यसपछि मात्र कुरा अगाडि बढ्ने बताएकी छिन् । मलाई विश्वास छ, एक दिन सचिनले मलाई अवश्य गीत गाउनका लागि खबर गर्नेछन् । आफू सही समयको प्रतीक्षामा बसेको सुनाउँदै यसका लागि राम्रो व्यवस्था र प्रबन्ध मिलाइनेछ । वर्तमान अवस्थामा सचिनलाई क्रिकेट खेल्नबाट फुर्सद नभएकोले केही ढिलासुस्ती भए पनि एक दिन आफू र सचिन एकसाथ गीत गाउने कुरामा विश्वास प्रकट गरेकी थिइन् । सचिनप्रति निकै विश्वस्त लताले सचिनलाई क्रिकेटको भगवान्को रूपमा पुजिने कुराको खुलासा गर्दै सचिन साँच्चिकै विश्वको महान् खेलाडी भएको बताएकी थिइन् । सचिन ‘भारत रत्न’ भएकोले उससँग गाउन पाउनु आफ्नो सौभाग्य हुने बताएकी छिन् ।
लताको नजरमा सचिन विश्वविख्यात क्रिकेट खेलाडी मात्रै नभई एक असल व्यक्ति भएको स्पष्ट छवि छ । त्यसैले स्वरसाम्राज्ञीलाई विश्वास छ, सचिनले राम्रो गाउन पनि सक्छ भनेर । लताले सचिनलाई सङ्गीतको ज्ञान भएको व्यक्तिको रूपमा चित्रण गर्दै उसले सुर र तालमा गीत गाउने बताएकी छिन् । सचिनले जहिले पनि सङ्गीत सुनेको आफूले देखेको र क्रिकेटपछि खाली रहेको समयमा पनि गीत-सङ्गीत सुन्ने गरेकोले उसलाई सङ्गीतको राम्रो ज्ञान र रुचि भएको लताले बताइन् । लताले सचिन सङ्गीतको निकै सौखिन भएको र पत्नी अञ्जलीसँग पटकपटक आफ्नो कार्यक्रममा आएको बताउँदै निकै लगनका साथ सङ्गीत सुनेको बताइन् ।
अन्तर्रर्ााट्रय क्रिकेटमा सर्वाधिक रन बनाएका सचिनको सङ्गीतप्रतिको रुचि निकै भए पनि उनले अहिलेसम्म गीत गाएको र गुनगुनाएको देखिएको र सुनिएको छैन । जसले गर्दा आफ्नो आदर्श व्यक्तित्व लताको चाहना पूरा गर्न उनी अब गीत र सङ्गीत मैदानमा उत्रिन्छन् कि उत्रिँदैनन् त्यो प्रतीक्षाको विषय बनेको छ । यदि सचिन साँच्चिकै गाउनका लागि तयार भए भने त्यो दुवै महान् व्यक्तित्वका लागि सबैभन्दा अविष्मरणीय क्षण हुनेछ । साथै भारतीय सङ्गीतका लागि पनि त्यो ऐतिहासिक क्षण सदाका लागि सुनौलो अक्षरमा लेखिनेछ ।

प्रथम महिला अब हिरोइन –
चर्चित मोडल तथा फ्रान्सकी प्रथम महिला कार्ला ब्रुनीलाई चाँडै एउटा सिनेमा देख्न पाइने भएको छ । ‘मिडनाइट इन पेरिस’ नाम गरेको उक्त रोमान्टिक तथा कमेडी फिल्ममा ब्रुनीले शीर्ष रोल निभाएकी छिन् । फिल्मका निर्माता बुडी एलेनले यो फिल्ममा पेरिसको रोमान्टिक कहानी भएको बताएका छन् । अघिल्लो वर्ष निर्माता बुडीले ब्रुनीलाई यो फिल्मका लागि प्रस्ताव राखेका थिए । यो फिल्ममा ब्रुनीलगायत विश्वका चर्चित कलाकारहरू ओवेन विल्सन, ओस्कार विजेता मेरियन कोटिलर्ड, रसेल म्याक एडम्स र केथी बेट्स रहेका छन् । ब्रुनीको यो फिल्म सार्वजनिक भएपछि उनी विश्वमै प्रथम महिला भएर सिनेमा खेल्ने पहिलो महिला बन्नेछिन् ।
– नविन उप्रेती