बस्न सकेन न्यायाधीशहरूको पूर्ण बैठक

बस्न सकेन न्यायाधीशहरूको पूर्ण बैठक



सर्वोच्च अदालतमा आज (सोमबार) बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो ।

न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नसकेको हो । आज प्रधानन्यायाधीशद्वारा तोकिएको इजलासमा सुनुवाइ पनि हुन सकेन ।

चौध जना न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण उक्त इजलासमा सुनुवाइ हुन नसकेको र न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेका बुझिएको छ । न्यायाधीशहरूबीच मङ्गलबार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको सम्बद्ध स्रोतको भनाइ छ ।