राखेपद्वारा खेलकुद मन्त्रीकोे स्वागत

राखेपद्वारा खेलकुद मन्त्रीकोे स्वागत


राष्ट्रिय खेलकुद परिषदले नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताए । उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष कोइरालाले चाँडो भन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनु पर्नेमा जोड दिए । खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमी कमजोरीलाई सच्याउनु पर्ने आवश्यकता औंल्याए ।