बौद्धस्थल रहेका चार नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहलकदमी

बौद्धस्थल रहेका चार नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहलकदमी


  • कपिलवस्तु प्रतिनिधि

स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच शनिबार कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबारक्षेत्रमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधिहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । त्यसैगरी स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच आपसी सम्बन्ध भाइचाराका साथै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्बन्धले ठुलो सहयोग पुऱ्याउने अपेक्षा गरिएको बताए ।

स्पेनस्थित लुम्विनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीको पहलमा नेपालका बौद्धस्थल रहेका चार नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास शुरु भएको हो ।

संसारभर अहिंसा, शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदुत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरुसँग भगिनी सम्बन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउँदा आफुहरु निकै खुशी रहेको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरुले बताए । महिला समानता, पर्यावरण संरक्षण, कृषि क्षेत्रको विकास लगायतका क्षेत्रमा आफुहरुले सहकार्य गर्ने स्पेनका स्थानीय निकायका प्रनिनिधिहरुको भनाइ थियो ।

स्पेनको काथेरेस नगरसँग भगिनी सम्बन्ध स्थापनाको सहमतिपत्रका हस्ताक्षर हुँदै गर्दा यहाँका बौद्धस्थल आसपासका क्षेत्रमा विकासको फड्को मार्न सकिनेमा कपिलवस्तु, रुपन्देही र नवलपरासीका नगरप्रमुखहरु आशावादी बनेका कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले बताए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, २९ वर्ष बिताएको क्रिडास्थल कपिलवस्तु, मावली देवदह र अष्टधातु राखिएको स्थल रामग्राम क्षेत्रको महत्वलाई बुझेर स्पेनको काथेरेस नगरले यी क्षेत्रका चार नगरहरुलाई भगिनी सम्बन्ध स्थापनाका लागि अग्रसरता देखाएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । यो सम्बन्ध हामी सबैका लागि निकै फलदायी हुने प्रतिक्रिया नगरप्रमुख गुप्ताले दिए ।

भगिनी सम्बन्ध स्थापनाका लागि यसरी गरिएको सहमति पत्रअनुसार यसलाई अक्षरशः पालना गर्न∕गराउन लुम्बिनी गार्डेन फाउण्डेशनको ठुलो भूमिका रहने भए पनि यसलाई पुर्ण कार्यान्वयन गराउनका लागि चार वटा नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको समेत महत्वपूर्ण अग्रसरता रहनुपर्नेमा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जोड दिए ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी गुप्ता, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवाली, राष्ट्रियसभा सदस्य नवराज सिलवाल, लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदी लगायतले स्पेनको एक नगर र नेपालका बौद्धस्थल रहेका चार नगरबीचको भगिनी सम्बन्ध सदियौसम्म कायम रहोस् भन्ने कामना समेत गरेका छन् ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाको तर्फबाट नगर उपप्रमुख लक्ष्मीदेवी गुप्ताले स्पेनका जनप्रतिनिधीहरुलाई बौद्धको मुर्तिसहितको मायाको चिनो उपहार प्रदान गरेकी थिइन् । सो अवसरमा स्पेनका काथेरेस नगरपालिकाका प्रमुख तथा प्रनिनिधी र प्रदेश सरकारको प्रमुख तथा प्रतिनिधिहरुले शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरबारक्षेत्र, सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ लगायतका बौद्धकालनी स्थलहरुको अवलोकन गरेका थिए ।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लगायत सुरक्षा निकायका जिल्ला प्रमुखहरु, कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिहरु, संचारकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।