आईओएफटीसीद्वारा १ लाखसहित पलेशा सम्मानित

आईओएफटीसीद्वारा १ लाखसहित पलेशा सम्मानित



अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आईओएफटीसी)ले टोकियो पारालिम्पक-२०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

टोकियो पारालम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’को पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदकनजिक पुगेकी थिइन् । काँस्य पदकको भीडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार नगद प्रदान गरियो ।

सङ्घीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरूलाई पाटन माविमा आयोजित एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरे । सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्‍याएवापत जनार्जन ढुङ्गेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत सबैलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर वृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रिएता बढाउनुपर्नेमा जोड दिए । पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।