आईओएफटीसी अमेरिकाको मिचिगनमा

आईओएफटीसी अमेरिकाको मिचिगनमा



अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औँ संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ ।

आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो सङ्घले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए ।

यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भए पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने ५ खेलाडी समेत छनोट गरिएको थियो ।

‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुङ्गो लागेको छैन । उनीहरूको ट्रेनिङको अवस्था बुझ्छौँ अनि छलफल गरेर निर्णय गर्छौं ।’ संयोजक गोर्खालीले भने- ‘छनोट गरेको लामो समय भएकाले सकभर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’

प्रतियोगितामा २० राष्ट्रका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ ।

विगतका १२ संस्करणमध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा १–१ पटक प्रतियोगिता भएको थियो । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने छ ।