प्रधानन्यायाधीश राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोके पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताउनुभयो ।
गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित हुनुभएको छैन ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ ।
अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।
यसैक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी निर्माण गरेका छन् । असन्तुष्ट न्यायाधीशहरुको आइतबार बसेको बैठकले न्यायाधीशत्रय सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको तीन सदस्यीय वार्ता कमिटी निर्माण गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गरेर न्यायालयमा पैदा भएको वर्तमान अवरोधको निकास निकाल्न कमिटी निर्माण गरिए पनि न्यायाधीशहरुको हट कायम रहेबाट अदालतको अवरुद्ध क्रियाकलापले निकास पाउन सकेको छैन ।
प्रतिक्रिया