भारतको विश्वकप यात्रा लिग चरणमै समाप्त हुने सङ्केत

भारतको विश्वकप यात्रा लिग चरणमै समाप्त हुने सङ्केत



कप्तान विराट कोहलीको नेतृत्वमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिता उत्रिएको भारतीय टीमले खराब प्रदर्शन गरेको छ । लगातार दुई खेलमा पराजित भएपछि भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि न्यून बनेको छ ।

सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न भारतले आफ्नो दोश्रो खेल जित्नैपर्ने बाध्यता थियो । दोश्रो खेलमा पनि ठूलो अन्तरले पराजित भएपछि भारतको विश्वकपको यात्रा लिगचरणमै समाप्त हुने सङ्केत देखिएको छ ।

टी–२० विश्वकप २०२१ मा आयोजकराष्ट्र भारतलाई विश्वकपको उपाधिको प्रमुख दाबेदार मानिएको थियो । विश्वकपको समुह २ मा रहेको भारतले अन्य पाँचवटै टीमलाई पराजित गर्ने अड्कल काटिएको थियो । उक्त समुहमा पाकिस्तान र न्यूजिल्याण्ड मात्रै भारतलाई चुनौती दिनसक्ने टीम थिए । अन्य टीमहरूमा अफगानिस्तान, नामिविया र स्कटल्याण्ड रहेकाले भारत आफ्नो समुहमा शीर्ष स्थानमा रहने अनुमान गरिएको थियो ।
तर यतिबेला सम्पूर्ण अनुमान गलत सावित भएका छन् । बहुचर्चित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सनसनी फैलाइदियो । विश्वकप क्रिकेटअन्तर्तका कुनै पनि संस्करणमा भारतलाई अहिलेसम्म पराजित गर्न नसेकेको पाकिस्तानले सनसनीपूर्ण खेलको प्रदर्शन गर्दै भारतविरुद्ध पहिलो जित निकाल्न सफल भयो । पाकिस्तानसँग एकपक्षीय खेलमा पराजित भएको भारत दोश्रो खेलमा पनि न्यूजिल्याण्डसँग ८ विकेट पराजित भएपछि भारतको सेमिफाइनलमा पुग्ने सम्भावना निकै न्यून भएको छ ।

अब भारतले तीन खेल अफगानिस्तान, नामिविया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । यी तीनवटै खेलमा भारत विजयी भए पनि सेमिफाइनलमा पुग्ने देखिँदैन । सर्वप्रथम यी तीनवटै खेलमा भारतले ठूलो अन्तरले विजयी हुनुपर्ने छ । त्यसपछि यदि अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरेको खण्डमा मात्र भारत सेमिफाइनलमा पुग्ने ढोका खुल्ने छ । यसको लागि चमत्कार नै हुनुपर्ने देखिन्छ ।

समुह २ मा पाकिस्तान तीन खेलमा विजय हासिल गर्दै शीर्ष स्थानमा छ । पाकिस्तानले भारत, न्यूजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरिसकेको छ । अब पाकिस्तानले कमजोर मानिएका नामिविया र स्कटल्याण्डसँग मात्र खेल्न बाँकी छ । त्यस्तै, तीन खेलमा दुई खेल जित्दै दोश्रो स्थानमा रहेको अफगानिस्तान पाकिस्तानसँग पराजित भए पनि उसको उत्कृष्ट रनरेटका कारण सेमिफाइनलमा पुग्ने सम्भावना उत्तिकै छ । यदि अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरेको खण्डमा भारत र न्यूजील्याण्डको यात्रा लिग चरणमै सकिने छ । न्यूजिल्याण्डले अहिलेसम्म दुई खेल खेलेकोमा एउटामा विजय र अर्कोमा पराजित भएको छ ।

यतिबेला समुह २ को अङ्क तालिकामा पाकिस्तान ६ अङ्क बटुल्दै पहिलो स्थानमा छ भने अफगानिस्तान ४ अङ्का साथ दोश्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजिल्याण्ड २ अङ्कका साथ तेस्रो र नामिविया समान २ अङ्कका साथ चौथौ स्थानमा रहेका छन् । पाँचौँ र छैठौँ स्थानमा रहेका भारत र स्कटल्याण्डले अहिलेसम्म अङ्क प्राप्त गर्न सकेका छैनन् ।

आयोजक भारत दोश्रो खेलमा पनि पराजित भएपछि कप्तान विराट कोहलीको परिवारले धम्कीको सामना गर्नु परेको छ । कोहलीको परिवारलाई धम्की आएपछि पाकिस्तानका चर्चित क्रिकेटर इन्जमाम उल हकले त्यसको आलोचना गरेका छन् । ‘खेल हो… खेलमा हारजीत हुन्छ, खेलको कुरा खेलमै सीमित राख्नुपर्छ, परिवारसम्म पुग्नु दुःखदपूर्ण घटना हो’– हकको प्रतिक्रिया छ ।

भारत पाकिस्तानसँग पराजित भएपछि भारतका फास्ट बलर मोहम्मद सामीले पनि यस्तै धम्की खानु परेको थियो । उनमाथि जातिय आरोपसमेत लागेको थियो । त्यसपछि भारतका चर्चित क्रिकेटर वीरेन्द्र सेहवागले सामीको पक्षमा उभिँदै गलत प्रचार नगर्न अपिल गरेका थिए । ‘आज उनको दिन राम्रो रहेन, सामी भारतीय हुन्, यसमा शंका गर्न हुँदैन’– सेहवागले भनेका थिए ।