सन् २०२२ को आइपीएलमा १० टीम, बीसीसीआईले कमायो भारु १२ हजार करोड

सन् २०२२ को आइपीएलमा १० टीम, बीसीसीआईले कमायो भारु १२ हजार करोड



सन् २०२२ देखि इन्डियन प्रीमियर लिग (आईपीएल) मा १० टीमको सहभागिता जनाउने भएका छन् । थपिएका नयाँ दुई टीममा अहमदावाद र लखनउ रहेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले संयुक्त अरब इमिरेटको दुबईमा आयोजना गरेको लिलाम बढाबढ प्रक्रियामा यस कुराको टुङ्गो लागेको हो । बीसीसीआईले यी दुई टीमलाई बेचेर १२ हजार करोड भारतीय रुपैयाँ कमाएको छ ।

बीसीसीआईका अनुसार लखनउ टीमलाई संजीव गोयन्काले खरिद गरेका छन् । उनले लखनउ टीमका लागि ७ हजार ९० करोड रुपैयाँ खर्च गरेका छन् । जुन आइपीएलको सबैभन्दा महङ्गो टीम बनेको छ । त्यस्तै, अहमदावाद टीमलाई विदेशी ग्रुप सीभीसीले ५ हजार ६ सय करोडमा खरिद गरेको छ । यो लग्जमवर्गको कम्पनी हो ।

बीसीसीआईले यी दुवै टीमको लागि २ हजार करोडको बेसिक प्राइस राखेको थियो । बीसीसीआईले लिलाम प्रक्रियामा जाँदा ८ हजार करोड कमाउने अनुमान लगाए पनि १२ हजार करोड कमाउन सफल भएको थियो ।

आईपीएलको नयाँ टीम खरिद गर्नको लागि विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरूले लिलाम प्रक्रियामा सहभागिता जनाएका थिए । जसमा म्याचेस्टर युनाइटेडका मालिक ग्लेजर फेमिलीदेखि अडानी ग्रुप, हिन्दुस्तान मिडिया ग्रुप, कोटाक ग्रुफ अल कार्गोे ग्रुप, केप्री ग्लोबल, सीबीसी ग्रुप, आरी सीजी ग्रुप र टोरेन्ट स्पोर्टसले दाबेदारी प्रस्तुत गरेका थिए ।

लिलामीमा सहभागी हरेक कम्पनीले दस लाख भारतीय रुपैयाँको डिपोजिट फर्म भरेका थिए, जुन फिर्ता हुँदैनथ्यो । जुन कम्पनी वा व्यक्तिले सबैभन्दा बढी अफर गर्थ्यो त्यसले दुईमध्ये जुनसुकै टीमलाई रोज्न पाउँथ्यो । यसै कुरालाई मध्यनजर राख्दै गोयन्का ग्रुपले सबैभन्दा बढी अफर गरेर लखनउ टीमलाई चुनेको थियो । त्यस्तै दोश्रो सबैभन्दा ठूलो अफर गरेको सीबीसी ग्रुपले अमहदावाद टीम प्राप्त गरेको थियो ।

आईपीएल २०२२ मा अब कुल ७४ खेल हुनेछन् । जसमा १० टीमले सहभागिता जनाउने छन् । हरेक टीमले सात खेल आफ्नो गृहमैदान र बाँकी ७ खेल अर्को टीमको मैदानमा खेल्नुपर्ने छ । हरेक टीमले लीगको १४ खेल खेल्नेछन् । यसपछि प्लेअपका लागि स्थान बनाउनुपर्ने छ ।