नेपालगञ्ज विमानस्थलमा बँदेलको समूहसँग ठोक्कियो जहाज, उडान प्रभावित

नेपालगञ्ज विमानस्थलमा बँदेलको समूहसँग ठोक्कियो जहाज, उडान प्रभावित



हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ ।

बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिएका छन् ।

बताइएअनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालकदलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका बेला जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति चालकदललाई भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए ।

जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा जहाज धावनमार्गबाट हटाइएको छ । बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगञ्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको थियो ।

ज्ञातव्य छ, नेपालगञ्ज विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायतका जङ्गली जनावार जहाजसँग ठोक्किने गरेका छन् ।