खेलकुद मन्त्रालयलाई पूर्वमन्त्रीहरूले दिए परामर्श

खेलकुद मन्त्रालयलाई पूर्वमन्त्रीहरूले दिए परामर्श



युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन एक कार्यक्रमको आयोजना गरेको छ ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सक्रियतामा भएको कार्यक्रममा पूर्व खेलकुदमन्त्रीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा खेलकुदका पूर्व खेलकुदमन्त्री जगतबहादुर सुनार, पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायकमन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरोकार निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि श्रोत जुटाउने, युवालक्षित कार्य गर्ने, धेरै मन्त्रालय भएकाले एकिकृत रुपमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने, युवाको क्षमता अभिवृद्धि तथा परिचालन गर्ने, युवालाई रोजगार, स्वरोजगार, उद्यमी बनाउनका लागि कोषवृद्धि गर्ने, नागरिकमा अनुशासन र स्वयंसेवकीय भावनाको विकासका लागि स्थानिय तहदेखि नै स्काउटको विकास गर्ने बारेमा छलफल भएको थियो ।

त्यस्तै खेलकुद पूर्वाधारहरूको गुणस्तरीय निर्माण तथा सम्पन्न गर्ने, खेल कौशल विकासका लागि खेलाडीलाई आधुनिक प्रशिक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिता, खेलाडीलाई उत्प्रेरित गर्ने, खेलकुदमा निजी क्षेत्रलाई आकर्षित गर्नेलगायतका विषयमा सहभागीले राय परामर्श दिएका थिए ।

सो अवसरमा पूर्व मन्त्रीहरू विश्वकर्मा, अछामी र चौधरीलाई मन्त्री गहतराजले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।