तिहारका लागि १८ लाख ५० हजार मालाको माग

तिहारका लागि १८ लाख ५० हजार मालाको माग


तस्बिर रासस


पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि सुरु भएको १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ ।

गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ता सहभागी भएको बताइएको छ । मेलामा सबैभन्दा बढी ६० प्रतिशत गोदावरी फूल बिक्री भएको अध्यक्ष तामाङले जानकारी दिए । मेलामा ४४ स्टल र गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत सामग्री मेलामा राखिएको थियो ।

प्रदर्शनमा काठमाडौं उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले ४०० प्रजातिका फूल बिक्री वितरणका लागि राखेका थिए । विगतको वर्षमा भन्दा यस वर्ष फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात गरिएको छ । आवश्यकताअनुसार आयात गरिने फूलमध्ये केही मंगलबार आइसकेको छ भने केही आज ल्याउने तयारी रहेको बताइएको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा केही वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । हाल यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।