‘द हिमालयन सनराइज’को लण्डनमा विमोचन

‘द हिमालयन सनराइज’को लण्डनमा विमोचन


संगीता स्वेच्छाद्वारा संकलित/लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डि द्वारा सम्पादित ‘द हिमालयन सनराइजः एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन’ लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीइले गर्नुभएको थियो ।

प्रमुख अतिथि डा. धितालले पुस्तक विमोचन गर्दै भन्नुभयो, ‘यो पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारी बाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता, चित्रकलाहरू आदि मार्फत नेपाल, नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउँछ । यस अर्थमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो ।’

‘वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ । पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ’- डा. धितालले भन्नुभयो ।

पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको हो । बुकहिल इन्टरनेशनल नेपाल स्थित बुकहिल प्रकाशनको सम्बद्ध संस्था हो ।

लेखक एन्ड्री रोबीका अनुसार अनुसार यो एक ज्ञानबर्द्धक प्रकाशन हो जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नैपर्नेछ।

‘यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु । यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ’, संगीता स्वेच्छा भन्नुहुन्छ ।

‘इलेक्ट्रोनिक भर्सन र हार्डकभरमा पनि पुस्तक आउने क्रममा छ । खुसीको कुरा यो पुस्तकको इबुक भर्सन चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैमा पाठकले प्राप्त गर्न सक्नुहुनेछ’, उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनि टिप्पणी गर्नुभयो ।

‘विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन् । उहाँहरुले गर्नुभएको यो मेहेनत एकदमै सराहनीय छ । नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाश झैँ देखिनेछ’, विश्वकर्मा भन्नहुन्छ ।

उक्त पुस्तक अमेजनमार्फत बजारमा उपलब्ध छ ।
Amazon USA, Amazon UK, Amazon Italy, Amazon Australia, Amazon Canada, Amazon France, Amazon Spain, Amazon Netherlands