दीपावलीको अवसरमा बेलायतले गऱ्यो गान्धीअङ्कित सिक्काको अनावरण

दीपावलीको अवसरमा बेलायतले गऱ्यो गान्धीअङ्कित सिक्काको अनावरण



बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दीपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ ।

सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ ।

बेलायतका प्रथम हिन्दू वित्तमन्त्री ऋषि सुनाकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताएका छन् । हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा आफू गौरवान्वित भएको सुनाकको भनाइ छ ।

विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गरेका थिए । यसका कारण सन् १९४७ मा भारतमा स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो ।

बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’को दिवाली संकलनको ब्यापक हिस्सा हो । यो सिक्कामा धनकी हिन्दू देवी लक्ष्मीको चित्रण गरिएको सुनबार पनि समावेश गरिएको एएफपीले जनाएको छ ।

हिन्दूहरू मसीही तथा मुसलमानहरूपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हुन् र यो जनसंख्याको लगभग १.६ प्रतिशत रहेको छ । अधिकांश बेलायती हिन्दूहरू नेपाल, भूटान, बर्मा तथा भारतीय मूलका रहेका छन् ।

सरकारी स्वामित्वमा रहेको टकसालका मुख्य ग्राहक अधिकारी निकोला हावेलले सिक्का अनावरणबारे भनेका छन्, “महात्मा गान्धीको जीवन र विरासतको सम्झनामा पहिलो आधिकारिक बेलायती सिक्का अनावरण गर्न पाउँदा खुसी लागेको छ ।” यसको बनावट बेलायत र भारतबीचको स्थायी तथा सांस्कृतिक सम्बन्धमा आधारित रहेको उनले बताए ।