जापान प्रवेशको पर्खाइमा रहेकाहरुमा खुशीयाली

जापान प्रवेशको पर्खाइमा रहेकाहरुमा खुशीयाली


  • विशेष प्रतिनिधि (जापान)

जापान सरकारले जापानको भिसा प्राप्त गरेको सिओई, भिसा भएको एवम् कोरोनाकालमा आफ्नै देशमा रहेको समयमा भिसा सकिएकाहरुलाई जापान प्रवेश गर्न दिने निर्णय गरेको छ । यो निर्णयसँगै जापान प्रवेशको पर्खाइमा रहेकाहरुमा खुशीयाली छाएको छ ।

जापान सरकारको पछिल्लो निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थी र प्राविधिक प्रशिक्षणको लागि जापान आउने विदेशीहरुको लागि प्रवेश खुल्नेछ । यसैगरी ब्यवसायीहरुलाई पनि जापान भ्रमणमा प्रवेश दिइने भएको छ । यो निर्णयसँगै जापान प्रवेशको पर्खाइमा रहेका हजारौँ विदेशी जापान प्रवेश गर्न सक्ने आँकलन गरिएको छ ।

जापानले पहिलो चरणमा पर्यटकहरूलाई प्रवेशमा भने अझै समय लाग्ने बताएको छ । सरकारले तत्काल नीतिगत परिवर्तन घोषणा गर्ने र कार्यान्वयन यसै महिनाबाट सुरु गर्ने तयारी गरेको एजेन्सीहरुले जनाएका छन् ।

छोटो अवधिका व्यवसायिक यात्रुहरूका लागि क्वारेन्टाइन आवश्यकता अब १० दिनबाट खोप लगाइएका आगन्तुकहरूका लागि तीन दिनसम्म घटाइनेछ । विदेशी नागरिकलाई भ्रमणमा बोलाउने कम्पनी र संस्थाहरूले उनीहरूको गतिविधिको अनुगमन सोही कम्पनी वा संस्थाले गर्ने भएको छ । जारी क्वारेन्टाइन भने विदेश भ्रमणबाट फर्केका जापानी नागरिकहरूमा पनि लागू हुनेछ ।

जापानले जनवरीमा कोभिड संक्रमण बढेपछि जापान प्रवेशमा थप कडाइ गरेको थियो । जुन समयमा संक्रामक कोरोना भाइरस भेरियन्टहरू फैलन पुगेको थियो । त्यसयता जापानले असाधारण परिस्थितिमा परेका विदेशीहरूलाई बाहेक केवल पुन प्रवेश अनुमति भएका र जापानी नागरिकका पति, पत्नी र छोराछोरीहरूलाई प्रवेश अनुमति दिँदै आएको थियो ।

यो निर्णयसँगै सिओई पाएका तर जापान प्रवेश गर्न नपाएकाहरुले अब विस्तारै जापान प्रवेश गर्न सके भएका छन् ।