संविधानसभा स्वीकारेको प्रधानमन्त्रीको अभिव्यक्ति कस्तो लाग्यो ?

संविधानसभा स्वीकारेको प्रधानमन्त्रीको अभिव्यक्ति कस्तो लाग्यो ?


भक्तमान खड्का
प्रधानमन्त्रीले यथार्थमा मनको कुरा गर्नुभो । जनता संविधानसभाका लागि तयार छँदै थिएनन् । माओवादी पार्टीले जबर्जस्ती अन्य दलहरूलाई संविधानसभाको एजेण्डामा प्रवेश गराएका हुन् । आज संविधानसभाको लफडाले मुलुकलाई कुन धरापमा पुर्याएको छ हामी सबैले भोगिरहेकै छौँ । प्रधानमन्त्रीलाई म धेरै-धेरै साधुवाद भन्न चाहन्छु कि आमनेपाली जनताको मनोभावअनुरूपको कुरा उहाँले गर्नुभएको छ । माओवादीलाई नफकाइनहुने अवस्थामा माधव नेपालले उनीहरूको त्यो एजेण्डा मानिदिनुभएको विषयलाई लिएर नराम्रो सोच्नु हुँदैन, बरु धन्यवाद नै दिनुपर्छ कि उहाँले संविधानसभाबारे नयाँ बहस जन्माइदिनुभयो ।

निर्मला अर्याल
संविधानसभामा जान मन नभएको प्रधानमन्त्रीको कुरा सुनेर अरूलाईजस्तै मलाई पनि आश्चर्य त लाग्यो तर कुनै अपराध बोले भन्नेचाहिँ होइन । यत्रो खर्चिलो संविधानसभामा गएर आखिर देशले के पायो त – संविधानसभा जन्मायौँ भन्नेहरूले नै आज त्यसलाई सिध्याउने व्यवहार गरिरहेका छन् त । अब संविधानसभा होइन सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुनेगरी विज्ञहरूको एउटा कमिटी बनाएर त्यसैलाई संविधान बनाउने जिम्मा दिनुपर्छ ।

सुनील बुर्लाकोटी
यो देशमा संविधान बन्नेवाला छैन भन्ने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले प्रस्ट पारेको छ । वास्तविक रूपमा भन्नैपर्ने हो भने यो देशमा नयाँ संविधान चाहिएको पनि छैन, ०४७ कै संविधानलाई ब्युँताइदिए हुन्छ । प्रधानमन्त्रीले मनमा लागेको उजागर गरिदिनुभयो, यसमा म खोट देख्दिनँ । जसरी माधव नेपालकै पार्टी एमालेले यसलाई मुद्दा बनाएर आपत्ति जनायो, यो उसको बाध्यता होला । भन्ने नै हो भने झलनाथले पनि प्रचण्डलाई खुसी बनाएर केही फाइदा उठाउनै खोजेका हुन सक्छन् । त्यही कारणले झलनाथले माओवादीको र्समर्थनमा कुरा गर्ने गरेका हुन्, उनी पनि संविधानसभाका लागि मनभित्रैबाट हत्ते हाल्ने कोटिमा पर्लान्जस्तो मलाई लाग्दैन ।

उषा गौली भण्डारी
सरकारको अकर्मन्यता र संविधानसभा समयमा बन्न नसकेकै कारण देश यस्तो सङ्कटबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले संविधानसभाप्रति नै जनविश्वास गुम्ने अभिव्यक्ति दिनु दु:खको कुरा हो । हुन त उहाँले आफ्नो अभिव्यक्ति ज्रि्रो लट्पटिएर खुस्केको भन्ने सफाइ दिएर पन्छिन खोज्नुभएको छ । तर, ढाँटेको कुरा काटे मिल्दैन भनेझैँ उहाँको नियत उदाङ्ग भइसकेको छ । वास्तवमा संविधान नबन्नुको दोष यतिबेला माओवादीलाई मात्र दिएर उम्कन मिल्दैन भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिले प्रमाणित गरेको छ । यथार्थमा माओवादीलाई मात्र दोष दिनु उसमाथिको पूर्वाग्रह नै हो । प्रधानमन्त्रीले यो अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएका हुन् । यो कुराले मुलुकमा संविधान बन्ने या बनाउनेभन्दा पनि अर्कै खिचडी पाकिरहेको सङ्केत गर्छ ।

काजीराम पाण्डे
मेरो विचारमा यो अभिव्यक्तिमा प्रधानमन्त्रीको बेइमानी झल्किन्छ । उनले यतिबेला आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नै थिएन भन्नेसम्मको झुट बोल्न थालेको पनि सुनिएको छ । हामीलाई राम्रोसँग थाहा छ- उनले प्रधानमन्त्रीको ओहदा हासिल गर्नकै लागि के-के गरे र कहाँ-कहाँ गुहारे भन्ने कुरा । आफ्नो मुरादा पूरा भएपछि हत्ते गरेर पाएको कर्ुर्सर्ीीनि चाहिएकै थिएन भनेर खोक्ने प्रधानमन्त्रीको नियत यसै प्रस्टिन्छ । सिंहदरबारमा फोटो टंगाएपछि देश र जनताप्रति यत्रो घात –

किसन तेली
प्रधानमन्त्रीले के भने, किन भने, कहिले भने यो हामीलाई थाहा भएन । संविधानसभा भन्ने सुनेको हो । नबन्ने भयो भन्ने पनि सुनिएको छ । बन्नुपर्यो, मधेसले पनि अधिकार पाउनुपर्यो । नेताहरू खालि कुरा मात्रै गर्छन्, मधेसकै नेताहरूले पनि ढाँटिरहेका छन् । अब यस्तो अलमल गर्नु भएन ।