पर्यटन बोर्डका प्रमुखले भन्सार शुल्कबिना मदिरा छुटाउन खोजेपछि…

पर्यटन बोर्डका प्रमुखले भन्सार शुल्कबिना मदिरा छुटाउन खोजेपछि…


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी विवादमा तानिएका छन् ।

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । रेग्मीले साथमा ल्याएका केही मदिराका बोतल भन्सार शुल्कबिना छुटाउन चाहेपछि भन्सार कर्मचारीले त्यसो गर्नु नियमविपरीत हुने तर्क गरेका र त्यसपछि विवाद शुरु भएको बताइएको छ ।

कार्यकारी प्रमुख रेग्मीले आफ्नो ओहदाबारे जानकारी गराउँदै कर्मचारीमाथि दुर्व्यवहार गरेका भन्सारसम्बद्ध कर्मचारीको आरोप छ । डा. रेग्मीले कर्मचारीमाथि हातपात नै गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो ।

सो विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई सोमबार मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे जानकारी लिएको छ भने बोर्डले विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डको दाबीअनुसार कार्यकारी प्रमुख डा रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको हो । उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको बोर्डको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि प्रमुख रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथि कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता छैन । कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय पनि गलत रहेको बोर्डले जनाएको छ ।